५ ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म 'राजागंजः पूजा सर' हेर्न सकिने भएको छ। दीपक रौनियार निर्देशित यो फिल्म कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट एकैसाथ स्ट्रिमिङ हुन थालेको हो।
एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्म हेर्न पाउनेछन्।
यसअघि नेपाल उडान भर्ने कतार एयरवेजजस्ता ठूला एयरलाइन्समा नेपाली फिल्मको उपस्थिति थिएन। निर्माता निरज श्रेष्ठले यसलाई नेपाली फिल्मका लागि नयाँ बजार र सांस्कृतिक उपस्थितिको सुरूवात भन्दै गर्व व्यक्त गरेका छन्।
पेनी ब्ल्याक मिडियाले भेनिस फिल्म फेस्टिभलमै यसको 'इन-फ्लाइट' वितरण अधिकार खरिद गरेको थियो। ब्ल्याककी कन्टेन्ट डिस्ट्रिब्युसनकी भिपी हुलिएटा बोयरले यो फिल्म एयरलाइन्सका विविध यात्रुलाई आकर्षित गर्न सफल हुने विश्वास व्यक्त गरेकी छिन्। उनले अन्य एयरलाइन्सहरूसँग पनि डिल सम्झौताको क्रममा रहेको समेत जनाएकी छिन्।
दीपक रौनियार निर्देशित यो 'क्राइम थ्रिलर' जनकपुरको सत्य घटनामा आधारित छ। फिल्ममा अपहरणमा परेका बच्चाको खोजीमा खटिएकी इन्स्पेक्टर पूजा थापाको भूमिकामा आशा मगराती छिन्। फिल्ममा दयाहाङ राई, निकिता चण्डक, विजय बराल, ऋचा शर्मा लगायतको अभिनय छ। बलिउडका अनुराग कश्यप फिल्मका कार्यकारी निर्माता हुन्।
फ्रान्समा ६२ स्क्रिनमा रिलिज भई १७ हजार दर्शकले हेरेको फिल्म बेलायतको ‘च्यानल फोर’ मा समेत प्रदर्शन भएको थियो।
यो फिल्म नेपालमा भने सेन्सरसिपमा परेको थियो। जसका कारण फिल्मको मर्म नै मरेको निर्माण पक्षले गुनासो गरेका थिए। यद्यपि, 'राजागंज' फेरि नेपाली दर्शकमाझ फर्किन लागेको छ।
अब नर्वेको 'ह्वाइट र्याबिट' र अमेरिकाको 'किनेमा' प्लेटफर्ममार्फत यसलाई डिजिटल रिलिज गरी विश्वभरका दर्शकमाझ पुर्याउने तयारी भइरहेको निर्माता पूर्ण सिंह बराईलीले जानकारी दिए।