दक्षिण कोरियाका जाङ येवन हकले यहाँ जारी युथ तथा जुनियर एशियन भारोत्तोलन च्याम्पियनसिप २०१७ का तीन स्वर्ण हात पारेका छन् ।
जाङले ८५ केजी तौलको जुनियर विधामा स्नाचमा १६२ केजी, क्लिन एनड जर्कमा १८५ केजी र कुलमा ३४७ केजी भार बहन गर्दै तीन स्वर्ण हात पारेका हुन् । उक्त विधामा ताइपेइका चेन पो जेनले स्नाचमा १५५ केजी र कुलमा ३३६ केजीसहित रजत र क्लिनमा १८१ केजीका साथ कास्य पाए ।
यसै गरी काजाकिस्तानका आन्त्रोपोभ एत्रेमले क्लिनमा १८२ केजी र कुलमा ३२३ केजीका साथ कास्य पाए । यस्तै इराकका अल बद्रावी हैदरले स्नाचमा १४७ केजी भार बहनका साथै कास्य पाए ।
सोही तौल समूहको युथमा काजाकिस्तानका आन्त्रोपोभ एत्रेमले स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरी तीन स्वर्ण पाए । सो स्पर्धामा इरानका अमिरेजा अस्कारिदुनले स्नाचमा १४० केजी र कुलमा ३०५ केजीका साथ रजत पाए । क्लिन एण्ड जर्कमा ओमानका मुर्सद मोहमद अल अजिमीले १६९ केजी भार बहन गर्दै कास्य पाए । उज्वेकिस्तानका खोजिभ अजिमजोनले स्नाचमा १३६, क्लिन एण्ड जर्कमा १६८ र कुलमा ३०४ केजीका साथ कास्य पाए ।
सो विधामा नेपालका विशाल सिंह विष्टले आफ्नो भार बहनमा सुधार गरे । उनले स्नाच, क्लिन एण्ड जर्क र कुलमा ९३, ११८ र २११ केजी तौल भार बहन गरे । यसअघि उनको सातौंँ राष्ट्रिय खेलकुदमा स्नाचमा ८७, क्लिनमा ११० केजीका साथ १९७ केजी भार बहनको रेकर्ड रहेको संघका सहसचिव सञ्जय महर्जनले जानकारी दिए।
चौरानब्बे केजी तौल समूहको युथमा उज्वेकिस्तानका लियालेखसेन्दरले स्नाच, क्लिन र कुलमा गरी तीन स्वर्ण पाए । उनले १४० केजी, १८९ केजी र कुलमा १८९ केजी भार बहन गरे । यस्तै उज्वेकिस्तानकै सिभाखरोरोभ सैदमुख्तारले स्नाचमा १३४, क्लिनमा १७५ र कुलमा ३०९ केजीका साथ रजत पाए । उक्त स्पर्धामा दुई जनाको मात्र सहभागिता थियो ।
चौरानब्बे केजीमाथिको तौलमा कुलतर्फ कतारका फेरसेलबाखले ३७५ केजी भारका साथ स्वर्ण, उज्वेकिस्तानका लियालेखसेन्दरले ३२९ केजीका साथ रजत र साउदी अरेबियाका अल खजल अलि अहमदले ३२० केजीका साथ कास्य पाए ।
सोही स्पर्धाको स्नाचमा इरानका रेजा विरल भन्दले १६६ केजी भारका साथ स्वर्ण, कतारका फरसेलबाखले १६५ केजीका साथ रजत र साउदी अरेबियाका अल खजल अलि अहमदले १४३ केजीका साथ कास्य पाए । यस्तै क्लिन एण्ड जर्कमा कतारका फरसेलबाखले २१० केजीका साथ स्वर्ण, उज्वेकिस्तानका लियालेख सेन्दरले १८९ केजीका साथ रजत र इराकका मालफायोह अब्दुलहुसेनले १७८ केजीका साथ कास्य पाए ।
सो तौलमा पहिलो पटक सहभागिता जनाएका नेपाली जयदी कोजूले स्नाचमा ७८ र क्लिनमा १०० केजी भार बहनका साथ कुलमा १७८ केजी उठाए । उनको सहभागिता नै पहिलो भएको प्रशिक्षक जगदीश प्रधानले जानकारी दिए।
चौरानब्बे केजीमाथिको तौल समूहको युथतर्फको प्रतिस्पर्धाको कुलमा इरानका होसेन साकीले ३४८ केजी भारका साथ स्वर्ण प्राप्त गर्दा इरानकै मोहमद साहबन्दाजले ३२८ केजीका साथ रजत र ताइपेइका लि सेङ लुनले ३२७ केजी भारका साथ कास्य पाए । यस्तै स्नाचमा १६० केजी भारका साथ इरानका होसेन साकीले स्वर्ण, १४० केजीका साथ ताइपेइका लुनले रजत र १३७ केजीका साथ इरानका मोहमद साहबन्दाजले कास्य पाए ।
यसैगरी क्लिन एण्ड जर्कमा इरानका मोहमद साहबन्दाजले १९१ केजीका साथ स्वर्ण प्राप्त गर्दा साकीले १८८ केजीका साथ रजत र ताइपेइका लुनले १८७ केजीका साथ कास्य पाए । रासस