नेपालबाट तयारी सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष बढेको छ। यद्यपि, अर्धतयारी सिमेन्ट (क्लिंकर) को निर्यात भने घटेको छ।
पछिल्लो आर्थिक वर्ष (२०८१/८२) मा नेपालबाट २ अर्ब २२ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट र ६९ करोड ७३ लाख रूपैयाँ बराबरको क्लिंकर भारत निर्यात भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा क्लिंकर र तयारी सिमेन्टको निर्यात लगभग बराबर थियो। उक्त वर्ष १ अर्ब ८८ करोडको क्लिंकर र १ अर्ब ९७ करोड रूपैयाँको तयारी सिमेन्ट निर्यात भएको थियो।
समग्रमा, त्यो आर्थिक वर्षमा कुल ३ अर्ब ८५ करोड रूपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो।
पछिल्लो आर्थिक वर्षमा भने सिमेन्ट र क्लिंकर दुवै गरेर कुल २ अर्ब ९१ करोड रूपैयाँ बराबरको निर्यात भएको छ।
समग्र निर्यात घटे पनि तयारी सिमेन्टको निर्यात बढ्नुले भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको उपस्थितिमा सुधार आएको देखिन्छ।
सिमेन्ट उत्पादकहरूले क्लिंकर सिमेन्ट उत्पादन गर्ने उद्योगहरूलाई बेच्ने गर्छन् भने, तयारी सिमेन्ट भने डिलरहरूलाई आफ्नै ब्रान्डमा बिक्री गर्छन्।
उत्पादकहरूका अनुसार, क्लिंकरबाट तयारी सिमेन्ट बनाउँदा १५ प्रतिशत अतिरिक्त मूल्य वृद्धि हुने र नेपाली ब्रान्डमा बिक्री हुने भएकाले अहिले क्लिंकरभन्दा तयारी सिमेन्टलाई बढी प्राथमिकता दिइएको छ।
अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, 'गत वर्ष बिआइएस (भारतीय मानक ब्युरो) नवीकरणमा ढिलाइ भएका कारण लामो समय निर्यातमा समस्या परेको थियो। यसका बाबजुद पनि तयारी सिमेन्टको निर्यात बढेको छ। हामीले पछिल्लो समय क्लिंकरको सट्टा तयारी सिमेन्ट नै बढी निर्यात गर्न थालेका छौँ।'
करिब ५/७ वर्षअघिसम्म नेपालको अधिकांश सिमेन्ट बजार आयातित सिमेन्टले ओगटेको थियो। तर, २०७९ सालदेखि सिमेन्ट निर्यात हुन थाल्यो। २०७९ असारबाट तयारी सिमेन्टको निर्यात सुरू भएको थियो भने, २०७९ असोजबाट क्लिंकरको निर्यात सुरू भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा ४२ करोड रूपैयाँ बराबरको क्लिंकर र ३५ करोड रूपैयाँ बराबरको तयारी सिमेन्ट निर्यात भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा सिमेन्ट र क्लिंकर दुवैको निर्यात उल्लेखनीय रूपमा बढ्यो। यस वर्ष क्लिंकर ४ गुणा बढेर १ अर्ब ८८ करोड रूपैयाँ पुग्यो भने, तयारी सिमेन्ट करिब ६ गुणाले बढेर १ अर्ब ९७ करोड रूपैयाँ पुगेको थियो।
पछिल्लो आर्थिक वर्षमा क्लिंकरको निर्यात ६३ प्रतिशतले घटेको छ भने तयारी सिमेन्टको निर्यात १३ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८१/८२ मा भारतले नेपाली सिमेन्टको गुणस्तर चिह्न नवीकरण गर्न ढिलाइ गरेको थियो। नवीकरणमा ढिलाइ भएका कारण अर्घाखाँची लगायत केही उद्योगहरूको निर्यात करिब ६ महिनासम्म प्रभावित भएको थियो।
अहिले मुख्यतया पाल्पा, सर्वोत्तम र अर्घाखाँची सिमेन्टले ठूलो मात्रामा सिमेन्ट निर्यात गरिरहेका छन्। करिब एक दर्जन उद्योगले भारतीय गुणस्तर चिह्न प्राप्त गरेका छन् र आंशिक निर्यात गर्दै आएका छन्।
उद्योगीहरूका अनुसार भारतीय बजारमा नेपाली ब्रान्डका सिमेन्टको माग बढ्दै गए पनि अझै लागत घटाउनु पर्ने चुनौती छ।
'सरकारले केही प्रक्रियागत काममा सहजीकरण गरिदिँदा मात्रै पनि लागत घटाउन सहज हुनेछ। एक उद्योगीले भने, 'अहिले हाम्रो उद्योगबाट भारतीय बजारमा सिमेन्ट पुर्याउन लाग्ने दूरी २/३ घण्टा मात्रै हो। नजिकको बजार छ, हामीले यसको लाभ उठाउनु पर्ने हो। तर, नेपाली भन्सारमा ५/७ घण्टासम्म जाँचपास गराउन समय लाग्छ। यसले हाम्रो ढुवानी लागत बढाएको छ। कतिपय अवस्थामा ट्रकहरू बोक्न नै मान्दैनन्,' उनीहरूले दाबी गरे।
उनले यथास्थितिमा वार्षिक २० अर्ब रूपैयाँभन्दा बढीको सिमेन्ट भारत निर्यात गर्न सकिने बताए।
'सिमेन्टको निर्यात क्रमशः बढ्दै छ। बेला–बखतमा हुने अवरोध र जाँचपासमा हुने ढिलाइका विषयमा सरकारले चासो राखेर सहजीकरण गरिदिने हो भने यथास्थितिमा नै वार्षिक २० अर्बको सिमेन्ट निर्यात हुन्छ,' उनले भने।
'जति धेरै निर्यात बढ्छ, हाम्रा उद्योगको उत्पादन क्षमता पनि त्यति धेरै नै उपयोग हुन्छ,' उनले थपे।
कुनै समय विदेशी सिमेन्टमा निर्भर रहेको अवस्थाबाट अहिले निर्यातको क्रम सुरू भएको छ। यद्यपि, भारतीय बजारमा मात्र भर पर्नुपर्ने भएकाले दुई पक्षीय वाणिज्य समस्याका कारण बेला–बेलामा निर्यातमा उतारचढाव देखिएको छ।
नेपालमा सिमेन्ट उद्योगको सुरुवात २०३२ सालमा काठमाडौंको चोभारमा हिमाल सिमेन्ट उद्योगको स्थापनासँगै भएको थियो। त्यसपछि २०३६ सालमा उदयपुर सिमेन्ट सञ्चालनमा आयो। यी सरकारी उद्योगहरूले प्रारम्भिक बजारको ठूलो हिस्सा ओगटेका थिए।
२०४२ सालदेखि २०६० सालको अवधिमा सरकारले औद्योगिक इजाजतपत्रको व्यवस्था सहज बनाउँदै निजी लगानी र विदेशी प्रविधिलाई सिमेन्ट उद्योगमा भित्र्याउन प्रोत्साहन गर्यो। यसले यस क्षेत्रमा लगानी बढायो।
२०७२ सालको भूकम्प नेपालको सिमेन्ट उद्योगका लागि एउटा महत्त्वपूर्ण मोड साबित भयो। भूकम्पपछिको पुनर्निर्माणले सिमेन्टको माग ह्वात्तै बढायो। यस मागलाई पूरा गर्न निजी क्षेत्रले ठूलो लगानी गर्यो र सरकारले पनि उद्योग खोल्न प्रोत्साहन प्याकेजहरू ल्यायो। फलस्वरूप, वार्षिक २–३ वटा उद्योग दर्ता हुनेमा भूकम्पपछिका वर्षहरूमा दर्ता हुने उद्योगको संख्या तीव्र गतिमा बढ्यो।
हाल नेपालमा करिब १०० भन्दा बढी सिमेन्ट उद्योग दर्ता भएका छन्, जसमध्ये लगभग ६० वटा सञ्चालनमा छन्। यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता २ करोड टनभन्दा बढी छ, जबकि आन्तरिक माग औसतमा १ करोड १० लाख टन मात्र छ। यसरी, नेपाल सिमेन्टमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ। उत्पादन आन्तरिक मागभन्दा बढी भएपछि निर्यातको सम्भावना खुल्यो।
यी ५ कारणले निर्यातको यात्रामा डोर्यायो
निजी क्षेत्रको ठूलो लगानीः चौधरी समूह, मुरारका अर्गनाइजेसन, विशाल ग्रुप लगायतका ठूला व्यापारिक घरानाहरू यस उद्योगमा संलग्न भएका छन्।
प्रशस्त चुनढुंगा खानीः सिमेन्टको मुख्य कच्चा पदार्थ चुनढुंगा नेपालमा पर्याप्त मात्रामा उपलब्ध छ। खानी तथा भूगर्भ विभागले चुनढुंगा खानीको इजाजतपत्र वितरण गरेपछि क्लिंकर आयात रोकियो।
सरकारी नीतिः लोडसेडिङको अन्त्य, आयातित सिमेन्टमा भन्सार शुल्क, निर्यातमा अनुदान, पहुँचमार्ग निर्माण जस्ता सरकारी नीतिहरूले उद्योगलाई ठूलो टेवा पुर्याएका छन्।
घट्दो लागतः लोडसेडिङ अन्त्य भई बिजुलीको उपलब्धताले उत्पादन लागत घटेको छ। कुनै समय प्रतिबोरा १ हजार रूपैयाँ पर्ने सिमेन्ट अहिले औसतमा ६/७ सय रुपैयाँमा उपलब्ध छ, जसले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाएको छ।
उच्च प्रविधि र विदेशी लगानीः विदेशी लगानीसँगै उच्च प्रविधि भित्रिएकाले उत्पादन क्षमता र गुणस्तरमा सुधार आएको छ। विदेशी लगानीमा अहिले ह्वाङ्सी, हुवासिन लगायतका ठूला उद्योगहरू सञ्चालनमा छन्।