कुनै समय जुन मोबाइल फोन हात–हातमा देखिन्थ्यो, अचेल त्यसले 'टुकटुके' फोनको नाम पाएको छ।
फोन गर्न र उठाउन मिल्ने, एसएमएस पढ्न र पठाउन मिल्ने र गेमका नाममा 'स्नेक' मात्र खेल्न मिल्ने भएकैले त्यसलाई टुकटुके फोन भनिएको हो।
अचेल त मोबाइल भन्नेबित्तिकै हाम्रो दिमागमा यस्तो फोनको झझल्को आउँछ, जसले कुराकानी र सन्देश आदानप्रदान मात्र गर्दैन। त्यसले फोटो खिच्छ, भिडिओ खिच्छ। फोटो र भिडिओ सम्पादन पनि गर्छ। त्यही फोन प्रयोग गरेर मान्छेहरू किनमेल गर्छन्, पैसा आदानप्रदान गर्छन्, समाचार थाहा पाउँछन्, किताब पढ्छन् र युट्युबमा भिडिओ हेर्दै मनोरञ्जन पनि लिन्छन्।
ल्यापटपले गर्ने त्यस्ता कमै मात्र काम छन्, जुन अचेलका मोबाइल फोनले गर्न सक्दैनन्।
जसरी कुनै 'स्मार्ट' मान्छेले आफ्नो बुद्धि र विवेकका आधारमा दैनिक जीवनका काम सजिलै फत्ते गर्न सक्छ, त्यसरी नै दैनिक जीवनका कठिन काम कम समय र कम मिहिनेतबाट फत्ते गर्ने यी फोनलाई हामीले 'स्मार्टफोन' नाम दिएका छौं; जसले पुरानो टुकटुके फोनलाई लगभग प्रतिस्थापन गरिसकेको छ।
बजारमा सस्ता, मध्यम र महँगा गरी तीनै किसिमका स्मार्टफोन पाइन्छन्। मान्छेहरू गच्छेअनुसारका स्मार्टफोन किन्छन् र औंला नचाएर सारा काम धान्छन्।
जसरी संसार चलिरहेको छ, त्यसलाई झट्ट हेर्दा यस्तो लाग्छ, अबको युग स्मार्टफोनको युग हो। यो तकनिकले आज संसार खाइसक्यो र आगामी दिनमा झन् बढी खानेछ।
के तपाईं पनि यस्तै सोच्नुहुन्छ?
सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ।
सन् २००७ मा एप्पल कम्पनीले आइफोन बजारमा ल्याएपछि सुरू भएको स्मार्टफोनको युग करिब करिब अन्तिम चरणमा पुगेको विज्ञहरूको भनाइ छ। अहिले जसरी स्मार्टफोन बिनाको दैनिकी कल्पना गर्न गाह्रो छ, यो युग लगभग सकिने अवस्था आइसकेको विज्ञहरूले बताएका छन्।
उनीहरूले यो त्यसै भनेका होइनन्। यसका पछाडि प्रविधि विकासमा भइरहेको एउटा महत्त्वपूर्ण फड्को कारण छ। त्यो हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा भइरहेको अभूतपूर्व विकास।
एआईमा दिन–प्रतिदिन हासिल भइरहेको उपलब्धिले अब त्यो दिन टाढा छैन, जब अपरिहार्य ठानिएको स्मार्टफोन असान्दर्भिक हुँदै जानेछ। यो कुरा संसारका अग्रणी स्मार्टफोन उत्पादकहरूले पनि कुनै न कुनै रूपमा स्वीकार गरेका छन्।
'एआईले अबको १० वर्षमा आइफोनलाई असान्दर्भिक बनाउन सक्छ,' यो भनाइ एप्पल कम्पनीका सेवा–प्रमुख एडी क्यूको हो।
उनले एआईको तीव्र विकासले स्मार्टफोनको भविष्य के हुन्छ भनेर सोधिएको प्रश्नमा यस्तो जबाफ दिएका थिए।
गुगल र त्यसको माउ कम्पनी अल्फाबिटाका प्रमुख कार्यकारी सुन्दर पिचाईले पनि केही दिनअघि यस्तै अभिव्यक्ति दिएका थिए। उनले स्मार्टफोनको आयु दुई–तीन वर्ष मात्र बाँकी रहेको उल्लेख गर्दै त्यसपछि यो बिस्तारै विस्थापित हुने संकेत गरे।
सोच्नुस् त, अहिले हाम्रा लागि नभई नहुने यो यन्त्र दुई–तीन वर्षमै कसरी विस्थापित होला? यति महत्त्वपूर्ण यन्त्रसमेत विस्थापित गर्ने ताकत भएको अर्को यन्त्र के आउला?
यसको जबाफमा वैज्ञानिकहरूले विभिन्न अनुमान लगाइरहेका छन्। खासगरी हामीले प्रयोग गरिरहेकै अर्को कुनै सामानले स्मार्टफोनको काम गर्ने र त्यो अहिलेभन्दा निकै सहज हुने अनुमान छ।
उदाहरणका लागि — गुगल र मेटा जस्ता विश्वका ठूला प्रविधि कम्पनीहरू एआईको मद्दतबाट चल्ने स्मार्ट चस्मा बनाइरहेका छन्। यी दुई अमेरिकी कम्पनीलाई टक्कर दिँदै शाओमी र बाइदु जस्ता चिनियाँ कम्पनी पनि स्मार्ट चस्मा बनाउन लागिपरेका छन्।
यी कम्पनीको मुख्य जोड 'अग्मेन्टेड रियालिटी' मा आधारित स्मार्ट चस्मा विकास गर्नमा छ। यो भनेको यस्तो प्रविधि हो, जसले कम्प्युटरले बनाएको ग्राफिक्स, अक्षर, आवाज लगायतका डिजिटल जानकारी मिसाएर देखाउँछ। नांगो आँखाले हामी संसार जस्तो देखिरहेका हुन्छौं, यो प्रविधिले त्यसलाई अझ रोचक र जानकारीमूलक बनाउँछ।
अर्को शब्दमा भन्दा, अग्मेन्टेड रियालिटी भनेको भर्चुअल रियालिटीभन्दा फरक हो। भर्चुअल रियालिटीले एउटा काल्पनिक संसारमा पुर्याउँछ भने अग्मेन्टेड रियालिटीले वास्तविक संसारको स्वरूपलाई जस्ताको तस्तै राखेर त्यसमा अतिरिक्त जानकारी थप्ने काम गर्छ।
भनेपछि यस्तो प्रविधियुक्त स्मार्ट चस्मामा के–कस्ता विशेषता होलान् त?
स्मार्ट चस्मा बनाउन लागिपरेका कम्पनीहरूका अनुसार अग्मेन्टेड रियालिटीमा आधारित स्मार्ट चस्मामा क्यामरा लगायत विभिन्न उपकरण जडान गरिएका हुन्छन्, जसले वरपरको प्रत्यक्ष भिडिओ खिच्छ। अनि, त्यही चस्मामा रहेको सफ्टवेयरले उक्त भिडिओ प्रशोधन गरेर चस्मामै रहेको स्क्रिनमा देखाउँछ।
मानौं, तपाईं यस्तो चस्मा लगाएर जंगल सफारीमा जाँदै हुनुहुन्छ। तपाईंको अगाडि बाघ वा गैंडा देखियो। अब यो स्मार्ट चस्माले त्यो बाघ वा गैंडाको भिडिओ मात्र खिच्दैन, भिडिओ प्रशोधन गरेर बाघ वा गैंडाबारे तपाईंलाई चाहिने सबै किसिमका जानकारी तुरून्त उपलब्ध गराउँछ। तपाईं चस्माले खिचेको भिडिओ चस्माबाटै सम्पादन गरेर तुरून्तै अरूलाई पठाउन पनि सक्नुहुन्छ।
यस्तो खाले स्मार्ट चस्माले अहिले तपाईं–हाम्रो हात हातमा रहेको स्मार्टफोनभन्दा कयौं गुणा बढी काम अहिलेभन्दा निकै कम मिहिनेतबाट पूरा गर्ने अपेक्षा गरिएको छ। त्यही भएर स्मार्ट चस्माले स्मार्टफोन विस्थापित गर्ने वैज्ञानिकहरूको भनाइ छ।
यो स्मार्ट चस्मा त एउटा उदाहरण मात्र हो। अरू यस्ता थुप्रै साधन अनुसन्धानका क्रममा छन्।
गुगल र मेटा जस्ता कम्पनी मात्र होइन, आर्टिफिसियल इन्टेलिजेन्समा अग्रणी मानिएको 'च्याट जिपिटी' बनाउने 'ओपन एआई' कम्पनी पनि अहिले एआईमा आधारित विभिन्न उपकरण बनाउन लागेको छ। यसले एआई उपकरण बनाउन एप्पलका पूर्वप्रमुख डिजाइनर जोनी आइभले स्थापना गरेको कम्पनी ६ अर्ब ४० करोड डलरमा किन्ने घोषणा पनि गरिसकेको छ।
जोनी आइभको कम्पनीले विकास गरिरहेको एआई उपकरण कस्तो हुनेछ भनेर अहिलेसम्म खुलेको छैन।
उक्त कम्पनी किनेपछि ओपन एआईले बनाउने शक्तिशाली उपकरणले सुरूमा स्मार्टफोनलाई सहयोग गर्ने र बिस्तारै स्मार्टफोनभन्दा बलियो हुँदै बजारबाट विस्थापित गर्ने अनुमान गरिएको छ।
एआईले यस्तो अकल्पनीय फड्को मार्न सकेन र प्रविधि विकास अहिलेकै गतिमा भयो भने पनि कुनै न कुनै दिन यी अनुसन्धानले नतिजा दिने नै छ। त्यसपछि स्मार्टफोन विस्थापित हुनबाट कसैले रोक्न सक्ने छैन।
भन्नुको मतलब, सुन्दर पिचाईले भनेजस्तो दुई–तीन वर्षमा स्मार्टफोनको युग अन्त्य नभए पनि ढिलोचाँडो हुने नै छ।
त्यो बेला सायद स्मार्टफोनलाई पनि मान्छेहरू 'टुकटुके' फोन भन्लान् कि!
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)