कखरा प्रि स्कूलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ।
नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो। धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। कखराले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा यसअघि सागका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर तथा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई सम्मान गरेको थियो।
कखराका प्रबन्ध संचालक उमानाथ निरौला र कखराकी प्रिन्सिपल निशा घिमिरेले सन्तोषीलाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे।
सम्मानित सन्तोषीले कखराद्धारा आयोजित खेलकुद प्रतियोगितहरुमा सहभागी बालबालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन्।
कखराकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदको माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, ईमान र प्रसिद्धिले कलिला बालबालिकाहरुलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौषला पुग्ने विश्वास व्यक्त गरिन्।
कखराका प्रबन्ध संचालक उमानाथ निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुद प्रतिको रुची र प्रतिभा ७ वर्ष उमेर पूरा हुनु अघिनै विकसित हुने भएकाले कखराले बालबालिकाको रुची र प्रतिभालाई समयमै पहिचान गरी सोही अनुसार विभिन्न खेलकुद क्रियाकलापहरुमा सहभागी गराउने गरेको जानकारी दिए।