गत साता नेपालकी कराते स्टार एरिका गुरुङले अर्को ऐतिहासिक पदक जितिन्। सन् २०२३ मा एसियाली खेलकुदमा रजत जिते यता एरिकाले लगातार पदक भित्र्याइरहेकी छन्।
विगत चार वर्षदेखि प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा हुर्किरहेकी एरिकाले गत साता मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज एमा स्वर्ण जितेकी हुन्।
एरिकले महिला ६८ केजीमाथि ऐतिहासिक स्वर्ण जित्दै यो सिरिजमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन्।
सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि बुधबार राति नेपाल फर्किएकी एरिकाले अबको ध्यान विश्व च्याम्पियनसिप र एसियन गेम्स भएको समेत बताइन्।
स्वदेश आएपछि एरिकाले पछिल्लो सयम नेपालमा भएको आन्दोलनको अवस्थामा पदक जित्दै त्यो दु:खमा मलमपट्टी भएको बताइन्। साथै उनले आफ्नो मेडल देशका लागि लड्ने सहिदप्रति समेत समर्पण गरिन्।
हरेक प्रतियोगितामा पदक जितेकी एरिकाले आफूमाथि दबाब कहिल्यै नभएको र पदक जित्नका लागि आउने आशालाई आर्शिवादको रुपमा लिएको समेत बताइन्।
उनले भनिन्, ‘एउटा तर्फबाट हेर्ने हो भने दबाब (प्रेसर)हो। तर अर्को तर्फबाट हेर्ने हो भने चाहिँ सबै जनाको आशिर्वाद पनि हो। दबाबको रूपमा हेर्ने हो भने चाहिँ एकदमै दबाब पनि हुन्छ। तर सकारात्मक तरिकाले हेर्ने हो भने चाहिँ एकदमै राम्रो हुन्छ। मैले एकदमै आशिर्वादहरू पाएको जस्तो लाग्छ। त्यही भएर त्यहाँ एउटा आशा हुन्छ अनि त्यो आशिर्वादले झन् एउटा छुट्टै खालको एनर्जी प्राप्त हुन्छ।’
मलेसियामा स्वर्ण जितेपछि आफ्नो सपना पूरा भएको पनि उनले बताइन्।
‘हामीले रजत पदकमै घर फर्किनु परेको स्थितिहरू थियो।यतिबेला चाहिँ यो साँच्चै नै स्वर्ण पदक हो। हामीले देखेको सपना पुरा हुँदै छ। अब ध्यान विश्व च्याम्पियनसिप मा छ। अनि त्यसमा चाहिँ एकदमै अझै आशा बढेको छ। अझै कन्फिडेन्ट बढेको छ। रिजल्ट्सको लागि पनि हाम्रो टिम आशावादी छ भन्नु पर्छ,’ उनले भनिन्।
अर्को वर्ष जापानमा एसियन गेम्स हुँदैछ। त्यसअघि विश्व च्याम्पियनसिप हुँदैछ। अब यी दुई मुख्य प्रतियोगितमा केन्द्रीत हुने एरिकाको भनाइ छ।
उनले भनिन्, ‘एसियन गेम्स र वर्ल्ड च्याम्पियनसिप फरक हो। वर्ल्ड च्याम्पियनसिपमा एसिया लगायत युरोप अनि सबै महादेशका खेलाडी आउनुहुन्छ। त्यहाँको स्टेजको स्ट्यान्डर्ड नै फरक हुन्छ। अनि त्यसमा राम्रो गर्दा एसियनमा पनि एकदमै सहयोग हुन्छ। यी प्रतियोगितामा हाम्रो टिमलाई आशा छ। पहिलाको भन्दा अहिले नतिजाहरू एकदमै राम्रो आएको छ। मेरो मात्र नभएर पूरै टिमको नै नतिजाहरू एकदमै राम्रो राम्रो भइरहेको छ।’
उनले राम्रा प्रतियोगितामा पदक जितिरहदा ‘हामी पनि गर्न सक्छौ’ भन्ने सन्देश गएको बताइन्।
‘यो मेडलले हामीले पनि सक्छौँ' भन्ने सन्देश दिएको। हामी जाँदाखेरि तीन जना मात्र थियौँ, तर हामीले एउटा स्वर्ण पदक ल्याइसक्यौँ। हाम्रो टिमका धेरै खेलाडी जाँदाखेरि अझै उत्कृष्ट नतिजा आउँछ होला। विश्व मञ्चमा नेपाल भनेर नचिनिने प्रतियोगितामा पनि अहिले हामी पदक जित्न सक्ने भइसकेका छौं। त्यसैले भविष्य धेरै उत्कृष्ट छ। हामीले यतिकै मेहनत गर्दै गयौँ भने चाहिँ एकदमै राम्रो हुन्छ,’ एरिकाले भनिन्।