नेपालभाषा मंका: खल: ललितपुरको ४३ औं वार्षिक जन्मोत्सवको उपलक्ष्यमा प्रथम राष्ट्रब्यापि खुल्ला -यापिड बुद्धिचाल प्रतियोगिता आजवाट त्यागल टोल मंका: दबूमा शुरु भएको छ।
कूल ६४ जना विभिन्न जिल्लाका शिर्षस्थ खेलाडी एवं पूर्व नेपाल च्याम्पियनहरुको कडा तक्करमा तेस्रो खेल सम्पन्न भएका छन्। प्रतियोगिताको पहिलो चरणमा प्राय: शिर्ष खेलाडीहरुले जीतको संयुक्त स्वाद लिएका थिए।
कडा खेल दोस्रो चरणमा देख्न पाएको थियो। जसमा २०५८ रेटेड खेलाडी रुपेश जैसवालले युवा विवेक श्रेष्ठमाथि सुजबुझ पूर्ण जीत हात पारेका छन्।
पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठसंग अदभूत खेल पस्केका उदियमान युवा खेलाडी पुरुषोत्तम सिलवालले संघर्षपूर्ण जीत निकालेका थिए। पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली, सुरवीर लामा, नवीन तण्डुकार भने पुरानो दबदबालाई कायम गर्दै जीत हासिल गरेका छन्। कम रेटेड खेलाडी सानुभाई महर्जनले आफू भन्दा उच्च खेलाडी निकेन कुसाथालाई अप्रत्याशित माथ दिन सफल भएका छन्।
प्रतियोगिता पूर्व कार्यक्रमको शुभारम्भ गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद महर्जनले जिल्लामा नयाँ खेलाडीहरुको उत्पादन गर्ने तर्फ इशारा गर्दै हालै सम्पन्न राष्ट्रिय खेलमा ललितपुरका बुद्धिचाल खेलाडीले खासै उपस्थिति देखाउन नसकेको गुनासो पोखेका थिए। नेपालभाषा मंका: खल:को अध्यक्ष हिराकाजी महर्जनले अनुशासित र शालिन बुद्धिचाल खेलको क्रमिक रुपमा आयोजना गर्दै लैजाने प्रतिबद्धता जनाउनु भएको थियो।
सुशील चौधरी समयको दबाबलाई झेल्न नसकि रुपेश जैसवालको गल्तिलाई उपयोग गरि जीतमा बदल्न असफल रहे। रुपेशसंगै सबै खेलमा जीत हासिल गर्न सफल क्षितिज भण्डारी , बद्रीलाल नेपाली , अशोक मोहन श्रेष्ठ , पुण्यमान कर्माचार्य , सुरज महर्जन , सबिन चन्द्र घिमिरे ३/३ अंक जोडेका छन्। जसमा सुरज महर्जनले पुरुषोत्तम सिलवालसंगको खेल चलिरहँदा सातौंवाट आठौं कोठाका पाउन प्रमोट गर्दा मन्त्री नहालि घडी दबाउदा विपक्षको घडीमा १ मिनेट बढाउने मौका दिई सजाएँ भोग्न बाध्य बनेका छन्।
नेपालभाषा मंका:खल:-यापिड चेस प्रतियोगिता विजयी खेलाडीहरुले कूल ६०,०००/- नगद हात पार्नेछन् भने खुल्ला वर्गमा प्रथम हुनेले नगद १०,०००/- दोस्रोले ७,०००/- तेस्रोले ५,०००/- खल्तिमा हाल्नेछन । त्यसैगरि महिला तर्फको बिजेताले रु ५०००/-, ४,०००/- र ३,०००/- हत्याउने छन्। ललितपुरका स्थानीयले खेलाडी मध्ये पहिलो र दोस्रो हुनेले रु २५००/- र १५००/- सान्त्वना पुरस्कार प्राप्त गर्नेछन्। मंका: खल: ले आयोजना गरिरहेको बाँकी खेलहरु भोलि सोमबार बिहान १० बजे देखि प्रारम्भ हुनेछन्।