नेपालमै पहिलो पटक आयोजना गरिएको साइकल प्लाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधी कपिलवस्तुका सुशान्त थापाले जितेका छन्।
लायन्स क्लब अफ कपिलवस्तुले कपिलवस्तुको बाणगंगास्थित राजापानी पोखरीमा प्रतियोगिता आयोजना गरेको थियो पोखरीमाथि बनाइएको साँघुरो ट्र्याकमा साइकल चलाएर खेलिने उक्त प्रतियोगितामा कपिलवस्तु, रुपन्देही, दाङ र बाँके जिल्लाबाट १२९ जनाले भाग लिएका थिए।
प्रतियोगितामा भाग लिएका १२८ जनालाई पछि पार्दै कपिलवस्तुको बाणगंगालका सुशान्त थापा प्रथम भएका हुन्। पोखरीमाथि बनाइएको ४४ मिटर लामो ट्र्याकलाई थापाले १२ दशमलव ३७ सेकेन्डमा पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन्। उनले उपाधीसँगै नगद ५० हजार हात पारेका छन्।
रुपन्देहीको सैनामैनाका रिजन बन्जाडेले १५ दशमलव ०७ सेकेन्डमा उक्त दुरी पार गर्दै दोश्रो भए। बन्जाडेले नगद २५ हजार पुरस्कार प्राप्त गरे। त्यस्तै कपिलवस्तुकै सौरभ शर्माले १६ दशमलव २८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए भने सुदीप घिमिरेले १६ दशमलव ५६ सकेण्डमा दुरी पार गर्दै प्रोत्साहन पुरस्कार प्राप्त गरे।
पहिलो चरण पुरा गरी दोस्रो चरणमा प्रवेश गरेका ८ जनाबीच गराइएको अन्तिम प्रतिष्पर्धामा ६ जनाले मात्रै दुरी पार गर्न सकेका थिए।
ती मध्ये सबैभन्दा कान्छा सहभागि बुटवलका ११ वर्षीय मनिक श्रेष्ठले पनि दुरी पार गर्न सफल भएका थिए।
प्रतियोगिताको निर्णायक समितिका संयोजक नवदत्त घिमिरेले दुरी पार गर्न सफल भएका ६ जनाबीच दुरी पार गरेको समयको आधारमा बिजेता घोषित गरिएको बताए।
लायन्स क्लव अफ कपिलवस्तुले यसअघि सातवटा विभिन्न साहसी र अनौठो प्रकृतिका खेलकुद प्रतियोगिता आयोजना गर्दै आएकोमा साइकल प्लाङ्क ब्यालेन्स प्रतियोगिता भने पहिलो पटक आयोजना गरेको हो।
साहसिक खेलको माध्यमबाट पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको राजापानीको महत्व बुझाउन सकियोस् भन्ने उद्देश्यले यसप्रकारको प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष राम शुभागे थारुले बताए।
प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार प्रदान गर्दै लुम्बिनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य विष्णु पन्थीले यो खेल साहसिक सँगै मनोरञ्जनपूर्ण रहेको बताए।
जिल्लामा नौलो प्रतियोगिता आयोजना भएको भन्दै खेल हेर्नका लागि बाणगंगा सहित कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाका खेलप्रेमीहरूको बाक्लो उपस्थिति थियो।