तेक्वान्दोकर्मी अशोक खड्काले शनिबार प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
तेक्वान्दोमा अन्तर्राष्ट्रय स्वर्ण पदक विजेता तथा प्रशिक्षक र अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले काठमाडौँको थलीमा एक कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन्।
उनले उम्मेदवारी घोषणा कार्यक्रममा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गरे।
खड्काले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको भनाई राखे।
‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्दछ। विधि र कानुनको उच्चतम सम्मान गर्नुपर्दछ,’ आफ्नो उम्मेद्वारी घोषणासभामा खड्काले भने, ‘प्रत्येक नागरिक राष्ट्र सेवामा समर्पित हुनु पर्दछ भन्ने कुरा मेरो हृदयमा छ।’
सो कार्यक्रमा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेदवार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन्।
तेक्वान्दोकर्मी खड्काले आफूले जितेमा जनताको काममा समर्पित हुने बताए। उनले भने ‘कर तिर्न सक्षम नागरिक कसरी बनाउने ? तपाईंले राष्ट्रलाई तिरेको करलाई उचित उपयोग गर्न राष्ट्रले कस्तो सोच वा कार्यक्रम लिएर आउने ? स्थानीय उत्पादन क्षमतालाई कसरी अभिवृद्धि गर्ने ? नदी कटान , बाढी पहिरो नियन्त्रण , सिँचाइ व्यवस्थापन जस्ता कार्यहरुलाई कसरी सम्बोधन गर्ने ?’ उहाँले कार्यक्रममा आफ्ना योजनाबारे प्रश्न गर्दै भन्नुभयो, ‘यस्ता स्थानीय र राष्ट्रिय समस्याको सम्बोधन गर्ने स्पष्ट भिजन र योजना मसँग छ।’
उनले आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको भन्दै जनताले चुनावमा मतदान गर्ने विश्वास पनि व्यक्त गरे। ‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु। मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ। त्यसैले तपाईहरुबाट निर्वाचित हुने अपेक्षा राखेको छु'– खड्काको भनाइ छ।
सो कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, टोल समाजका अगुवा लगायतका सयौँ व्यक्तित्वको सहभागिता रहेको थियो।