ओलम्पियन पौडीवाज शिरिष गुरूङले स्थापना गरेको शिरिष फाउण्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ।
फाउण्डेसनले तामाङलाई आउँदो १२ महिना मासिक १५ हजार रूपैयाँका दरले नगद तथा खेल सामग्री उपलब्ध गराउनेछ।
आईतबार तामाङ र शिरिष फाउण्डेसनका कोषाध्यक्ष सपना गुरूङले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार फाउण्डेसनले एक वर्षको अवधिमा तामाङले सहभागिता जनाउने प्रत्येक प्रतियोगिताका लागि खेल पोशाक तथा सामग्री उपलब्ध गराउनेछ।
तामाङले आधिकारिक राष्ट्रिय र अन्तर्राष्ट्रिय बाहेकका प्रतियोगितामा फाउण्डेसनको पोशाक लगाएर प्रतिष्पर्धा गर्नुपर्नेछ।
यसैगरी सम्झौता अवधिभित्र तामाङ घाइते वा बिरामी परेमा फाउण्डेसनले उपचारको व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ।
फाउण्डेसनका सदस्य, कार्यालय सचिव एवं नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले सम्झौता अवधिमा तामाङले राम्रो प्रदर्शन गर्दै अघि बढे सम्झौता थप गरिने बताए।
कार्यक्रममा फाउण्डेसनले सहयोग उपलब्ध गराएकी पहिलो खेलाडी निमा घर्ती मगरले तामाङलाई फाउण्डेसनको तर्फबाट खेल सामग्री हस्तान्तरण गरेकी थिइन् भने तामाङले निमालाई फाउण्डेसनको तर्फबाट उपहार प्रदान गरेकी थिइन्।