युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तिलाई नेपालमै रोक्नुपर्ने बताएका छन्।
पछिल्लो समय युवाहरू विदेशिने क्रम बढिरहेको भन्दै उनले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरिरहेको बताएका हुन्।
राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरूको अवस्था, समस्या र सम्भाब्यता’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्नुपर्ने बताए।
उनले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले विदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरूलाई आग्रह समेत गरे।
विभिन्न कालखण्डमा परिस्थितिवश विदेशिएका युवाहरूलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उनले विदेशमा सिकेको सिपलाई नेपालमै सदुपयोग गर्न युवाहरूलाई आग्रह गरेका हुन्।