आ-आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरिएको छ।
हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित गर्यो।
उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे।
सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पुरस्कृत गरे।
जीतबहादुर केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो।
बैकुण्ठ मानन्धरले सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए। सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली हुन्
राजुकाजी शाक्य फुटबलमा कप्तान र प्रशिक्षक दुबै रुपमा साफको स्वर्ण जितेका थिए। सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए। छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्राउँदा उनी टोलीको कप्तान थिए। प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए।
संगिना वैद्यले विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरु गरेपनि एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन्।
दीपक विष्टले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए।
पारस खड्का नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन्। नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए।
गौरिका सिंहले तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन्।