भारतको चेन्नई शहरमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ।
नेपाल बुद्धिचाल संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा शुरु भएको कार्यक्रममा ओलम्पियाड टोलिका खेलाडी तथा अफिसियल हरुको सहभागीता रहेको छ।
मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुनेछ ।
कार्यक्रमको पहिलो दिन मनोविद डा. नरेन्द्र ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका छन्।
कार्यक्रमको दोश्रो दिन पूर्व नेशनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ ।
आगामी जुलाईको २८ तारिखमा उद्घाट्न भई अगस्ट ९ मा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन्।
त्यसैगरी महिलातर्फ नेशनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन्।
सहभागी खेलाडी मध्ये रुपेशले २०१२(रसिया) एवं २०१८(जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव रहेको छ । त्यस्तै क्षितिज भण्डारी २०१६(अजरवैजान) तथा विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नाई ओलम्पियाड नयाँ अनुभव हुनेछ ।