नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले बुधबार एसियाली प्रतियोगिता रजत पदक जित्न सफल भएका छन्।
उनले माल्दिभ्समा आयोजना भएको ५४ औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली व्यवस्थापक एवं नेपाल शारिरीक सुगठन संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।
८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए।
यसअघि फिटनेस फिजिकतर्फ १७० सेमीसम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए।
तीन खेलाडी सहभागीता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएकी छिन्।
खेलाडीको मनोबल उच्च राख्नका लागि नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत ब्यवस्थापक राजभण्डारीले बताए ।
यसै क्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औं एशियन शारिरीक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे।
प्रतियोगितामा भारतका एतीनदर सिंहले मि. एशियाको उपाधि जितेका थिए। नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको ब्यवस्थापक राजभण्डारीले जानकारी गराए।