'बिजी बेकर्स बुटवल कोरा २०२२' को तयारी पूरा भएको छ। असार ३२ गते शनिबार हुने बुटवल कोराको आवश्यक तयारी पूरा भएको पत्रकार सम्मेलन गरी बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिएका हुन्।
कार्यक्रमलाई रूपन्देहीका ह्याप्पी साइक्लिङ क्लब, तिनाउ साइक्लिङ क्लब, बुटवल साइक्लिङ ग्रुप, साइकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साइक्लिङ संघको समेत सहकार्य रहेको छ।
अध्यक्ष श्रेष्ठका अनुसार करिब ३ लाख रुपैयाँ खर्च हुने कार्यक्रमलाई बिजी बेकर्सले मुख्य प्रायोजन गरेको छ भने भैरव ग्रुप, मेरो चिया, आरोग्य, होटल पौवा, बुटवल रेडिमिक्स प्रालिले सहप्रायोजन गरेका छन्।
धार्मिक स्थलहरूको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रूपमा कोरा आयोजना गरिएको आयोजकले जनाएका छन्।
दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान मिल्ने अपेक्षा गरिएको छ। कोराको मूल मर्म अनुसार सामाजिक क्षेत्र कोरामार्फत् योगदान गर्दै आएको छ।
रूपन्देही जिल्ला साइक्लिङ संघका सदस्य तथा बुटवल साइक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोरा कार्यक्रम केवल साइकल इभेन्टमात्र नभई यो साइकलका लागि ठूलो पर्व भएको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए।
कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै बुटवलको संस्कृति कोरा बन्दै गएको बताए।
साइकलमार्फत् पर्यटन प्रवर्द्धनको अभियानमा यस क्षेत्रका साइकलहरू लागेको उनले बताए।
विश्वभर नै कोरा साइक्लिङ गरिँदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरू गरिँदै आएको बताए।
कार्यक्रममा भैरव ग्रुपका अध्यक्ष गोपालबहादुर पोखरेलले साइकलमार्फत् पर्यटन प्रवर्द्धनको अभियान निकै उत्कृष्ट कार्य भएको बताए।
कार्यक्रममा प्रायोजकका रूपमा सहकार्य गर्ने अवसरका लागि विशेष धन्यवाद दिँदै सामाजिक उत्तरदायित्व सहितका सबै कार्यमा सहयोग गर्ने उनले बताए।
बिजी ग्रुप प्रालिका संचालक तारा रायमाझी पोखरेल, रुपन्देही जिल्ला साइक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, ह्यापीका अध्यक्ष सुमन श्रेष्ठ, क्लबका सचिव राजु तिवारीले रूपन्देहीका साइकल प्रयोगकर्ताहरूलाई एकताबद्ध गराएर सामाजिक कार्यमा अग्रसर गराउने अभियानका रूपमा कोरा चल्दै आएको बताए।
कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत् कार्यक्रमको तयारी तीव्र रूपमा चलेको बताए।
यो वर्ष कोरामा रूपन्देहीका ४ सहित नवलपरासी जिल्ला साइक्लिङ संघसहित एक सय ५० बढी साइक्लिष्टहरू सहभागी हुने छन्।