दाङ तुलसीपुरस्थित बेलझण्डी रंगशालाभित्रको खेल मैदानको दुबो फेरि बौरिन थालेको छ।
लामो समयदेखि सिँचाइ नपाउँदा मुर्झाएको खेल मैदानको दुबो सिँचाइ पाएपछि फेरि बैरिन थालेको हो।
राष्ट्रिय खेलकुद परिषद दाङ शाखाकी कार्यालय प्रमुख पद्मा चौधरीले गत आइतबारदेखि सिँचाइ गर्न थालेपछि रंगशालाको दुबो हराभरा हुन लागेको बताइन।
‘हामीले आइतबारदेखि नै दुबोमा सिँचाइसुरू गरिसकेका छौं,’ चौधरीले भनिन्, ‘जिल्ला खेलकुद विकास समिति र रंगशाला निर्माण गर्ने ठकेदार मिलेर सिँचाइको काम भइरहेको छ।’
विद्युतलाई तिर्नु पर्ने झन्डै एक लाख ३३ हजार रुपैयाँ बक्यौता नतिर्दा रंगशालामा बिजुलीको लाइन काटिएको लामो समय बित्दा पनि सरोकारवाला निकाय मौन थिए।
त्यो खबर सार्वजनिक भएपछि ठेकेदार कम्पनीले सापटीस्वरूप ९६ हजार बक्यौता विद्युतलाई बुझाउन सघाएपछि रंगशालामा काटिएको बिजुली फेरि जोडिएको कार्यालय प्रमुख चौधरीले बताइन्।
‘बाँकी ३७ हजार बक्यौता पनि जति हुन्छ छिटो तिर्ने प्रतिवद्धता विद्युतका हाकिमसँग गरेका छौं,’ चौधरीले भनिन्, ‘म कार्यालय प्रमुख हुनासाथ रंगशालाको दुबो चार्न काम भएको हो।’
यसअघि जिल्ला खेलकुद विकास समितिले ठेकेदार कम्पनीलाई र ठेकेदार कम्पनीले खेलकुद विकास समितिलाई देखाउँदै दुबोमा पानी हाल्ने काम रोकिएको थियो।
रंगशाला निर्माण गर्ने कम्पनीले राखेपबाट सबै भुक्तानी नपाएको भन्दै रंगशाला हस्तान्तरण गरेको छैन। त्यही भएर राखेपले खेल मैदानको दुबोमा सिँचाइ गर्ने दायित्व ठेकेदार कम्पनीको हुने दाबी गर्दै आएको थियो।
अर्कोतर्फ निर्माण कम्पनीले निर्माण पूरा भई राष्ट्रिय प्रतियोगिता समेत भइसकेको हुँदा अब मैदानको दुबोमा पानी चार्ने दायित्व आफूहरूको नरहने बताउँदै आएको थियो।
बेलझुण्डी रंगशाला परिसरमै खेल मैदानको दुबोमा सिँचाइ गर्न र अन्य प्रयोजनका लागि पानीको सहज आपूर्तिका लागि भनेर एउटा डिप बोरिङ पनि गरिएको छ।
गर्मीमा दुबो चार्न सकियोस् भनेर खेल मैदानको वरिपरि सातवटा च्याम्बर निर्माण गरिएको छ। त्यहाँ पानी पुर्याउन नजिकै एक लाख लिटर क्षमताको अन्डग्राउन्ड ट्याङ्की पनि बनाइएको छ।
‘रंगशालामा रोपिएको लाखौंको दुबो सिँचाइ नपाएर मर्न थालेको खबर सार्वजनिक भयो र त्यसले हामीलाई दबाब सिर्जना गर्यो,’ चौधरीले भनिन् ‘ त्यसपछि मैले पनि व्यक्तिगत पैसाले झन्डै १०० मिटर पाइप किनेर लगेकी थिएँ।’
चौधरीले लुम्बिनी प्रदेश सरकारले रंगशाला परिसरमा लगाएको प्रेदश एक्स्पोका कारण रंगशालाको नाममा धेरै विद्युत बक्यौता निस्किएको बताइन।
‘प्रदेश एक्स्पो लगाउँदा रात-दिन जेनेरेटर, मोटरलगायत उपकरण चलाउनु पर्यो। त्यो सबै बिल राखेपकै नाममा निस्कियो,’ उनले भनिन्, ‘म छिट्टै विद्युतको बक्यौता बोकेर मुख्यमन्त्री शंकर पोखरलाई भेट्न जाने छु।’
रंगशाला परिसरमा प्रदेश सरकारले २०७६ मा प्रदेश एक्स्पो लगाएको थियो।
बेलझुण्डी रंगशालामा भारतको कलकत्ताबाट ३६ लाख बढीको बरमुडा दुबो किनेर रोपिएको थियो। तर, लामो समयदेखि सिँचाइ नपाउँदा कुनै सयम हराभरा खेल मैदान पछिल्लो समय उजाड लाग्ने बनिसकेको थियो।
कार्यालय प्रमुख चौधरीका अनुसार हाल रंगशाला निर्माण कम्पनीका कार्यालय सहयोगीले दुबोमा साँझ बिहान सिँचाइ गर्दै आएका छन्।
उनले दुई बोरा युरिया मल किनेर दुबोमा छर्ने तयारी भइरहेको जानकारी दिइन्।
‘हाल मैले इज्जतको लागि भए पनि व्यक्तिगत रूपमै खर्च गरिरहेकी छु,’ उनले भनिन्।