नेपाल एडभेन्चर रनिङ फेडरेसनका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन्।
कुँवरले अगष्ट २ तारिखमा इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आईएसएफ) को वार्षिक साधारण सभामा २०२६ मा हुने विश्व स्काइ रनिङ आयोजना गर्ने नेपाललाई जिम्मेवारी प्रदान गर्न प्रस्ताव गरेका हुन्।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्व सदस्य समेत रहेका कुँवरका अनुसार आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ।
‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं। उहाँहरू हाम्रो प्रस्तावमा सकरात्मक हुनु हुन्छ।’
कुँवरले भने, ‘आईएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ। नेपालमा हामीले गरेको गतिविधि, हाम्रो सक्रिएता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आईएसएफले हामीलाई जिम्मेवारी दिनेमा म पूर्ण विश्वस्त छु।’