रुपन्देहीमा सम्पन्न रोटरी हाफ म्याराथनको उपाधि पर्वतको फलेबास नगरपालिका २ थापाथानाका अनिश थापा मगरले हात पार्न सफल भएका छन् ।
भारतीय सेनाको गोरखा राइफल हैदरावादमा कार्यरत थापाले बुटवल पुष्पलाल पार्कदेखि भैरहवा बुद्धचोकसम्म २१ किलोमिटरको हाफ म्याराथन १ घण्टा ६ मिनेट ३९ सेकेन्डमा पार गर्दै उपाधि चुमेका हुन्।
थापाले उपाधिसँगै नगद १ लाख रुपैया प्राप्त गरेका छन्। थापाले यसअघि आफैंले राखेको रेकर्ड ब्रेक गरेका छन्। यसअघि २१ किलोमिटर १ घण्टा ६ मिनेट ४३ सेकेन्डमा पार गरेको उनले बताए।
यस्तै, भारतीय सेनामै कार्यरत पांचथरको हिलयाङ गाउँपालिका ५ का दीपक सुहाङले द्वितीय स्थान हासिल गरेका छन् भने सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत कैलालीको गोदावारी नगरपालिका ३ अत्तरियाका किरणसिंह बोगटी तृतीय भएका छन्।
दोस्रो भएका सुहाङले उपाधिसँगै नगद ७५ हजार र तृतीय भएका बोगटीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। सुहाङले २१ किलोमिटर दूरीलाई १ घण्टा ८ मिनेट २५ सेकेन्डमा पार गरे भने बोगटीले १ घण्टा ९ मिनेट ५४ सेकेन्डमा पार गरेका थिए।
रोटरी इन्टरनेसनल डेको अवसर पारेर रोटरी क्लब अफ भैरहवाको आयोजना तथा रिजन फाइभ अन्तर्गतका विभिन्न रोटरी र रोट्रयाक्ट क्लबहरूको सहयोगमा हाफ म्याराथन आयोजना गरिएको थियो।
भारतीय सेना, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा देशभरका विभिन्न क्लब, संघसंस्थाका प्रतिनिधी गरी १ सय १६ जनाको सहभागिता रहेको प्रतियोगितामा मिलन कार्की र श्रीकास राईले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
उनीहरूले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
२१ किलोमिटर दूरीकै हाफ म्याराथनमा महिलातर्फको उपाधि भने दैलेख नौमूलेकी भावना शाहीले जितेकी छन्।
सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी कपिलवस्तुमा कार्यरत शाहीले १ घण्टा ३८ मिनेट २५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन्। उनले उपाधिसँगै नगद २० हजार रुपैयाँ प्राप्त गरिन्।
यस्तै, नेपाली सेनाको गोरखदल गणमा कार्यरत पाल्पाको तिनाउ गाउँपालिकाकी मिनिषा थापा १ घण्टा ४२ मिनेट १८ सेकेन्डमा उक्त दूरी पार गर्दै द्वितीय भइन् भने बर्दियाको बारबर्दिया नगरपालिका २ की कल्पना थारुले १ घण्टा ४३ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै तृतीय भइन्।
द्वितीय भएकी थापाले उपाधिसँगै नगद १५ हजार र थारुले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।
त्यस्तै, महिलातर्फ विपिका पुनले प्रोत्साहन स्वरूप नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरेकी छन्। पुनले २ घण्टा ३ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गर्दै सान्त्वना भएकी छन्।
हाफ म्याराथन खुला रूपमा आयोजना गरिएको भए पनि महिला धाविकाहरूलाई प्रतियोगितातर्फ आकर्षित गर्ने उद्देश्यले छुट्टै पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक एवं रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फ रहेको पुष्पलाल पार्कबाट सुरू भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अंचलपुर हुंदै भैरहवाको बुद्घचोक, बर्मेलीटोल, नारायणस्थानपथ स्थित सानू डिपार्टमेन्टल स्टोर चोकमा पुगेर म्याराथन समापन भएको थियो।
प्रतियोगिताको उद्घाटन रुपन्देहीका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेलले गरेका थिए भने समापन रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर राजिव पोखरेलले गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन स्थान हासिल गरेकालाई गभर्नर पोखरेलले पुरस्कार प्रदान गरेका थिए।
यसअघि दुईवर्ष पहिले पनि रोटरी क्लब अफ भैरहवाले विश्व पोलियो दिवसको अवसर पारेर ईन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड आयोजना गरेको थियो।