'तपाईंहरू पत्रकार हो! उ त्यहाँ माथि जाऊँ न! खानीले हामीलाई कसरी अवरोध पुर्याइरहेको छ, सिंगो बस्ती क्रसरै क्रसरबाट कसरी घेरिएको छ, हामी देखाउँछौं।'
पनौती नगरपालिका वडा नम्बर १२ बाट डेढ किलोमिटर माथि पुगेपछि एक जना अटो चालक भेटिए।
गत वर्ष असोजको बाढी–पहिरोले थुपारेको गेग्रान सम्याएर खोलिएको ट्र्याकमा उनी बेपरवाह गाडी गुडाइरहेका थिए। अटोमा एक जना यात्रु पनि थिए। उनी अटो भित्रैबाट भनिरहेका थिए, 'बाढीले लछारेको बस्तीको शिरमा खानीवालाहरू डोजर दौडाइरहेका छन्, कसैलाई मतलब भए पो!'
उनी यतिमै रोकिएनन्।
पुलुक्क आकाशतिर चिहाउँदै भने, 'यसपालि बर्खामा पनि क–कसका घर बगाउने हो उफ्!'
बस्ती टुंगिएजस्तो निर्जन इलाकाको बीचबाट धमिलो रोशी बगिरहेको थियो। रातभरि सिमसिमे पानी परेकाले रोशीको आकार केही बढेको थियो। हिउँद याममा त यहाँ मुठीभरिको पानी मात्र हुन्छ। बर्खा लागेपछि मात्र रोशी खोलामा घट्ट घुम्नेजति पानी हुने हो।
गत वर्षदेखि भने रोशीको आकार र स्वभाव दुवै बदलिएको छ। अहिले खोलाले बाह्रैमास गेग्रान ओसारिरहन्छ। सानो पानी पर्नेबित्तिकै ढुंगा–मुढा पनि लिएर आउँछ। गत वर्षको बाढीको गेग्रान मात्र होइन, खार खोलाभन्दा माथिको क्रसर र ढुंगाखानीले थुपारेको माटोमाथि बग्ने हुँदा रोशीमा सङ्लो पानी देखिनै मुस्किल छ।
'क्रसर र खानीवालालाई कति भन्नु! खानीबाट निस्किएको माटो र ढुंगाका कणहरू खोलामा नहाल भनेको, सुने पो! हाम्रो त दिनहुँजसो झगडा पर्छ। खोलामा अलिकति भेल आउनुहुँदैन, थुपारेको माटो र ढुंगाको धूलो खोलामा बगाइहाल्छन्,' पनौती–१२ खार खोलाका सञ्जय लामाले पीडा सुनाए।
उनका अनुसार खार खोला क्षेत्रमा रोशी खोला रोडा–ढुंगा उद्योग र क्रिष्टल रोडा–ढुंगा उद्योग सक्रिय छन्। ती उद्योगका ५० भन्दा बढी डोजर र टिपर दिनहुँ खानी क्षेत्रमा गुड्छन्। खोलाको किनार मात्र होइन, बहाव क्षेत्र नै ओगटेर खानीजन्य पदार्थ र तिनका अवशेष निर्बाध थुपारिएका छन्। कहिले त ती उद्योगले खार खोलातर्फ जाने मूल सडक नै ढाकेर निर्माण सामग्री थुपारिरहेका हुन्छन्।
'बाढीले बस्ती सखाप पारेको उनीहरूले नदेखेका होइनन्। गत वर्ष भेलबाढीले धेरै क्रसर र ढुंगा खानीका टिपर, डोजर बगायो,' सञ्जय भन्दै थिए, 'तर उनीहरू अटेर गर्दै अहिले पनि जथाभाबी माटो फालिरहेका छन्।'
खार खोला सुरू हुने गौंडामै दुर्गा केसी फेला परिन्। उनी भूमिडाँडा क्षेत्रमा विवाह गरेर आएको २७ वर्ष भयो। उनको माइती भोजपुर रहेछ।
दुर्गाले खार खोला क्षेत्रमा खानी चलेको २० वर्षभन्दा बढी भएको अनुभव सुनाइन्। हिउँद र बर्खा रातैभरि डोजर चल्ने र टिपर दौडने गरेको उनले बताइन्।
'गत वर्ष त्यसरी बाढीले उग्ररूप लिने नै थिएन। यिनै खानीहरूले गर्दा हो,' उनले डाँडातिर औंल्याउँदै सुनाइन्, 'हामीले कति भन्यौं – खोलामा माटो नथुपार। धुलो जथाभाबी नराख। खोलाको दायाँबायाँ तारजाली लगाएर तटबन्ध बनाऊ। त्यसले तिमीहरूकै खानीको रक्षा गर्छ भन्दा पनि सुन्दैनन्।'
उनले खानीवाला र स्थानीयको द्वन्द्व बढ्दै गएको र रोशीले रौद्र रूप देखाउनुअघि पनि खानीवालाहरूलाई पटक पटक ध्यानाकर्षण गराएको बताइन्।
'खानीवालाको चर्को ज्यादती छ। उनीहरूलाई यसो नगर भन्यो भने उल्टै प्रहरी प्रशासन लगाएर दुःख दिन्छन्,' उनले पीडा सुनाउँदै भनिन्, 'खानीविरूद्ध जसले बोल्यो उसैलाई प्रहरी लगाएर थुन्छन्। स्थानीयलाई कुटपिट गर्छन्।'
उनले खानी सञ्चालनमा राजनीतिक संलग्नता रहेको आरोप लगाइन्। वडाध्यक्षदेखि मेयर मात्र होइन, सांसददेखि मन्त्रीसम्मकै मिलेमतो रहेको आशंका गर्ने प्रशस्त ठाउँ रहेको बताइन्।
'यहाँका स्थानीयहरू क्रसर उद्योगहरूसँग जुधेर बसिरहेका छन्। राजनीतिक संरक्षण नभई उनीहरूले कसरी आँट गर्न सक्छन्?' उनले प्रश्न गरिन्।
पनौती–१२, भूमिडाँडाकै रमेश केसीले पनि बाढीको स्रोत गाउँको शिर क्षेत्रमा निष्फिक्री चलिरहेको खानी तथा क्रसर उद्योग नै रहेको बताए। उद्योगहरूले खानीजन्य पदार्थ र अवशेष यथोचित व्यवस्थापन नगर्दा त्यसको मूल्य सिंगो खोला किनारका बस्तीहरूले चुकाउनुपरेको उनको भनाइ छ।
'खानीहरूले जथाभाबी ढुंगा, माटो थुपारेका छन्। खोलाको धार नै मिचेर सामग्री थुपारिएको छ। बस्तीतिर पनि ठाउँ ठाउँमा खोला साँघुर्याइएको छ,' उनले भने, 'ठूलो भल आउनेबित्तिकै त्यही खानीको माटो बगाएर ल्यायो र बस्ती नै सखाप पार्ने अवस्था बन्यो।'
गत असोज १० देखि १३ गतेसम्मको अविरल वर्षा र त्यसपछि आएको भेलबाढीले पनौती नगरपालिकाभित्र मात्र ६३५ घर क्षतिग्रस्त तुल्याएको थियो। तीमध्ये अधिकांश रोशी–कलाँती क्षेत्रका घर थिए। रोशी–कलाँतीमा ५ जनाको मृत्यु भएको थियो भने नगरपालिकाभरि १९ जनाको निधन भएको थियो। एक जना बेपत्ता भएका थिए।
पनौती क्षेत्रमा गत वैशाख २९ गते प्रि–मनसुन यामको भेलले नै वडा नम्बर ५ सुब्बा गाउँकी रेनुका गिरी बेपत्ता भएकी थिइन्। त्यसको कारण पनि भेलबाढी नै थियो।
सूचीकृत ६३५ घरमध्ये ५५० घरधुरी पूर्ण क्षतिग्रस्त किटान भई राहतको प्रक्रियामा छन्। ८४ घरधुरी सम्पर्कमै नआएको मेयर रामशरण भण्डारीले जानकारी दिए। ती घरधनी थातथलो नै छाडेर अन्यत्र गएको हुनसक्ने उनको आकलन छ।
रोशी–कलाँती क्षेत्र विपदको उच्च जोखिममा देखिन्छ। आँगन खोलाले कटान गरेको छ। घरको एकातर्फको पाखो खोलाले कटान गरेर खण्डहर तुल्याएको छ। भित्तातर्फको पाखो पहिराले लछारेको छ।
एउटै घर बाढी र पहिरो दुवैको निशानामा परेपछि स्थानीयहरू थातथलै छाडेर हिँड्न विवश भएको स्थानीय मीरा केसीले बताइन्। उनी पनि पहिराले खेतबारी र घरसमेत खोसेपछि छिमेकीकहाँ कोठा भाडामा लिएर बसेकी छन्।
रोशी, कलाँतीको भेलबाढीको स्रोत क्रसर तथा खानी उद्योग नै हो भन्ने पुष्टि भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जानकारी दिए।
उनका अनुसार जिल्लास्तरीय अनुगमन कार्यदलले २०७९ सालमै काभ्रेभरिका ४८ वटा ढुंगा–बालुवा खानी तथा क्रसर उद्योगहरूको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनअनुसार जिल्लाका अधिकांश ढुंगा–बालुवा खानी तथा क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालित थिए। तीमध्ये अधिकांश रोशी–कलाँती क्षेत्रमै थिए। उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउन नसक्दा पनौती क्षेत्रले ठूलो मूल्य चुकाउनुपरेको उनले बताए।
'प्रतिवेदन हामीले सार्वजनिक गरिसकेका छौं। पनौती क्षेत्रमा सञ्चालित अधिकांश क्रसर तथा ढुंगाखानी मापदण्डअनुरूप छैनन्। खोला, बस्ती नजिकैको जग्गा सस्तो मूल्यमा किन्ने र त्यही जग्गामा खानी सञ्चालन गर्ने पाइएको थियो। अधिकांश उद्योग बस्ती नजिक र खोलाछेउमै सञ्चालन गरिएको पाइएको थियो। ती उद्योगले खोलामै खानीजन्य सामग्री थुपारेका थिए। अहिले पनि त्यस्तै अवस्था रहेको जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले बताए।
'भेलबाढीले पनौती क्षेत्रमा विध्वंश निम्त्यायो। अविरल वर्षापछिको बाढीले क्रसर उद्योगले जथाभाबी थुपारेको माटो बगाउँदा त्यस्तो विपत्ति निम्तिएको आँखैले देख्न सकिन्छ,' उनले भने, 'कि खानी तथा क्रसर उद्योग पूर्ण रूपमा बन्द गरिनुपर्छ, कि खानी क्षेत्र तोकेर मापदण्डअनुरूप सञ्चालन गरिनुपर्छ। बस्ती र खोलाछेउ खानी तथा क्रसर उद्योग चलाउन दिने हो प्रत्येक साल भेलबाढी आइरहन्छ। बर्सेनि यही कुरा बताइरहनुपर्छ।'
२०७९ सालमा स्थलगत अनुगमनमा गएकामध्ये एक अधिकारीले पालिकाहरूको उदासीनताका कारण क्रसर तथा खानीहरू अनुगमन गर्न नसकिएको बताए। पालिकाको प्रमुख आय नै क्रसर तथा खानी उद्योग रहेकाले उनीहरूले नियमन गर्न नसक्ने पनि उनको भनाइ छ।
जिल्ला समन्वय समिति प्रमुख गौतमले पनि जिल्लास्तरीय अनुगमन समितिले नियमन गराउन नसक्ने बताएका छन्।
'कानुनतः हामीले गर्ने भनेकै अनुगमन हो। यहाँ त्यस्तो भइरहेको रहेछ, यतिवटा खानी, क्रसर बस्ती, खोला छेउ रहेछन्, वन, डाँडाकाँडा मासिरहेका छन् भनेर प्रतिवेदन तयार पार्ने हो,' उनले भने, 'खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर सञ्चालन भएका हुन्छन्। दर्ता गर्दा कागजातमा मापदण्ड सबै मिलाएका छन्। फिल्डमा केही पालना भएको देखिँदैन।'
यस विषयमा हामीले पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई पनि सोध्यौं।
उनले पनि निरिहता प्रकट गरे।
रोशी–कलाँती क्षेत्रमा मात्र नभई पनौतीभरि नै बर्खा यामका लागि खानी तथा क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको उनले बताए।
नगरपालिकाको निर्देशनविपरीत रोशी–कलाँती क्षेत्रमा निर्बाध खानी तथा क्रसरहरू चलिरहेको हामीले स्थलगत रिपोर्टिङमा देख्यौं। कलाँतीको फेदीबाटै क्रसर खानी सुरू हुन्छ। हामीले त्यसबारे पनि उनलाई सोध्यौं। उनले अनुगमन गर्न नभ्याइएको स्वीकार गरे। अनुगमनले मात्र समस्या समाधान नगर्ने भन्दै कानुनी अड्चन रहेको बताए।
'खानी तथा भूगर्भ विभागमा दर्ता भएर आउँछन्, हामीले कानुनअनुसार राजस्व बुझ्ने मात्र हो। खानीवालाहरू आफ्नो जग्गाको ढुंगो–माटो पनि बेच्न नपाउनु भन्छन्,' मेयर भण्डारीले भने, 'मैले पटक पटक उनीहरूलाई बोलाएर सम्झाएको छु। खानी तथा क्रसर उद्योग सञ्चालकहरू मसँग क्रुद्ध छन्, हुन त मसँग खुसी हुनुपर्ने पनि होइन।'
खानी तथा भूगर्भ विभागले फिल्डमै नगई गुगल अर्थबाट स्याटलाइट तस्बिर हेरेर खानी तथा क्रसर उद्योग दर्ता गरिदिने गरेको उनले बताए। बस्ती र खोलाबाट कति टाढा छ भनेर हेर्दै नहेरी दर्ता गरिदिँदा र प्रदेश सरकारले आवश्यक कानुन नबनाइदिँदा नियमन गर्न नसकिएको उनको भनाइ छ।
'क्रसर बन्द नै गराउने अधिकार हामीसँग पनि छैन। हामीले मापदण्ड अनुरूप चलाऊ भनेर भन्ने हो। त्यो भनिरहेकै छौं,' मेयर भण्डारीले भने, 'तर उनीहरूले अटेर गर्दै आएका छन्। अब केही समयपछि म आफै अनुगमनमा जान्छु।'
कति छन् काभ्रेमा अवैध खानी तथा क्रसर?
नदी जलाधार क्षेत्रमा प्रशासनको स्वीकृतिबिनै अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन भइरहेको, निजी जग्गा खरिद गर्ने र खानी सञ्चालन गर्ने क्रम बढेको, वन, खानेपानीका मुहान र खोला क्षेत्र वरपर खानी सञ्चालन भइरहेको र जनप्रतिनिधिहरू रमिते बनिरहेको गुनासो आएपछि २०७९ भदौ ७ गते काभ्रे जिल्ला समन्वय समितिले शान्तिराज प्रसाईंको नेतृत्वमा कार्यदल गठन गरेको थियो।
कार्यदलमा नौ जना सदस्य थिए। कार्यदलले झन्डै एक महिना लगाएर काभ्रे जिल्लाभरिका खानी तथा क्रसरहरूको अध्ययन गरेको थियो।
कार्यदलले काभ्रे जिल्लामा सञ्चालित १२ वटा ढुंगा खानी, २२ वटा क्रसर र १४ वटा खानी तथा क्रसर दुवै भएका उद्योग गरी ४८ वटा नदी तथा खानीजन्य उद्योगको अध्ययन गरेको थियो। तीमध्ये ३० वटा उद्योग चालू हालतमा थिए र १८ वटा बन्द भइसकेका थिए।
अध्ययन क्रममा पनौती नगरपालिकामै सबभन्दा बढी अर्थात् १४ वटा खानी तथा क्रसर पाइएका थिए। तीमध्ये १० वटा चालू हालतमा थिए। चारवटा बन्द भइसकेका थिए।
पनौतीपछि रोशी गाउँपालिकामा आठवटा त्यस्ता उद्योग थिए। त्यसमध्ये पाँचवटा नचलेको र तीनवटाले अवैध ढंगमा खानी सञ्चालन गरिरहेको कार्यदलको प्रतिवेदनमा छ।
प्रतिवेदनअनुसार नमोबुद्ध नगरपालिकामा ६, मन्डनदेउपुर नगरपालिकामा ३, बनेपा नगरपालिकामा १, बेथानचोक गाउँपालिकामा २, तेमाल गाउँपालिकामा ५, भुम्लु गाउँपालिकामा ४, चौरीदेउराली गाउँपालिकामा १ वटा त्यस्ता उद्योग सञ्चालनमा थिए। अधिकांश अवैध रहेको समितिको निष्कर्ष छ।
अब अध्ययन क्रममा पत्ता लागेको पनौती नगर क्षेत्रका नदी र खानीजन्य उद्योगहरूको अवस्थाबारे हेरौं।
पनौती–५ मा धनेश्वर रोडा उद्योग सञ्चालनमा छ। घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता रहेको यस उद्योगका सञ्चालक शेषनारायण सुवाल हुन्। अध्ययन क्रममा यो क्रसर खोला तथा सडक नजिक रहेको र मानव बस्ती बीचमा रहेको पाइएको कार्यदलले बताएको छ।
त्यसबाहेक उद्योगले अन्य कुनै पनि मापदण्ड पालना नगरेको कार्यदलको ठहर छ।
उद्योगले खानीबाट निस्किएका खेर जाने पदार्थ व्यवस्थापन नगरेको, ढुंगा टुक्रिएर निस्किएको धूलो पुण्यमाता खोलामा मिसाएको प्रतिवेदनमा उल्लेख थियो। उद्योग बस्ती बीचमा भएको, सडकसँग जोडिएको र खोला क्षेत्रमा भएकाले मापदण्ड पूरा गरेर सञ्चालन गर्न वा बन्द गर्न सुझाव दिएको थियो।
कलाती भूमिडाँडामा रहेको उडुवादेवी रोडा उद्योग पनि अवैध रूपमै सञ्चालनमा रहेको कार्यदलको निष्कर्ष छ। उक्त उद्योगका सञ्चालक सुरेन्द्र यादव रहेको कागजपत्रबाट देखिन्छ। उद्योग २०६२ सालदेखि नै सञ्चालनमा रहेको कार्यदलले अध्ययन क्रममा फेला पारेका थियो।
यो खानी दर्ता भएको कागजातसमेत उद्योगले देखाउन नसकेको कार्यदलले बताएको छ। केही समयअघि बन्द रहेको उक्त क्रसरले पनि धूलो पदार्थ रोशी खोलामा मिसाएको प्रतिवेदनमा उल्लेख छ।
कलाती भूमिडाँडामै दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालि सञ्चालित छ। २०७४ सालमा घरेलु तथा साना उद्योग कार्यालय, काभ्रेपलाञ्चोकमा दर्ता भएको उक्त खानी २०६४ सालमा जिल्ला विकास समितिमा पनि दर्ता रहेको पाइएको छ। प्रदीप बोगटी सञ्चालक रहेको उक्त खानी आफ्नै जग्गामा सञ्चालनमा रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ।
तर रोशी खोलाको किनारमै रहेको उक्त खानीले रोशी खोलालाई क्षतविक्षत बनाएको कार्यदलले बताएको छ।
स्वीकृत खानी क्षेत्रभन्दा बाहिर उत्खनन गरेको, तोकिएको क्षमताभन्दा बढी मात्रामा दैनिक उत्खनन हुने गरेको पनि कार्यदलले उल्लेख गरेको छ।
क्रसर तथा खानी कलाँती खोलासँगै भएकाले क्रसरले फालेका वस्तुहरूले रोशी खोलाको बहाव परिवर्तन हुन सक्ने देखिएको समितिको निष्कर्ष थियो। खानीले कलाँती खोलामा ढुंगाको धूलो मिसाएकाले पानीको स्रोत नै बिग्रिएको समेत कार्यदलको निचोड थियो।
पनौती–१२ मै भालेश्वर रोडा–ढुंगा उद्योग सञ्चालनमा थियो। उक्त उद्योग २०७८ फागुन २६ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको अभिलेख छ। तर २०६६ सालमै जिल्ला विकास समितिमा दर्ता गरेर चलाउन थालिएको कार्यदलले बताएको छ। बालचन्द्र आचार्यसहित तीन जना सञ्चालक रहेको उक्त खानी खारखोला र गोरखोलामा सञ्चालित थियो। पाँचवटा मेसिन प्रयोग गरी स्वीकृत मापदण्डभन्दा बढी उत्खनन गरेकाले रोशीले बहाव परिवर्तन गर्न सक्ने उतिबेलै औंल्याइएको थियो।
भूमिडाँडामै पनौती ढुंगा (खानी तथा क्रसर) उद्योग थियो। २०७४ मा घरेलु तथा साना उद्योग र २०७२ सालमै जिल्ला विकास समितिमा दर्ता भएको यस उद्योगका सञ्चालक रिपुमर्दन अधिकारी र बोधिरत्न शाक्य हुन्। उनीहरूले पनि खोलामा निर्बाध धूलो फाल्ने गरेको समितिको निष्कर्ष थियो।
पनौती–२ जोरघट्टमा काठमाडौं रोडा–ढुंगा उद्योग थियो। यो उद्योग २०६६ सालमा कम्पनी रजिस्ट्रार कार्यालय र २०७० सालमा जिल्ला विकास समितिमा दर्ता भएको देखिन्छ। कैलाश कुँवर सञ्चालक रहेको यो खानी लामा समानान्तर जेभीको नाममा रहेको भनिए पनि कुनै कागजपत्र फेला नपरेको कार्यदलले बताएको छ। यो उद्योगले खानीबाट निस्किएको खेर जाने पदार्थ खोलामै फ्यालेकाले विपत्ति निम्त्याउन सक्ने खतरा औंल्याइएको थियो।
पनौती–१२ मै श्रीराम आचार्यको नाममा दर्ता भएको क्रिष्टल रोडा–ढुंगा उद्योग नामक क्रसर सञ्चालनमा छ। यस उद्योगले पनि निर्माण सामग्री खोलामै थुपारेकाले धार परिवर्तन गर्न सक्ने औंल्याइएको थियो।
पनौती–१२ मा कोहिनुर रोडा ढुंगा उद्योग पनि अवैध रूपमै सञ्चालनमा थियो। त्यो उद्योगको खानी र क्रसर दर्ताको कुनै कागजात फेला परेन। विनोद रेग्मीले चलाउने गरेको त्यो अवैध क्रसरले पनि खोलामै सामग्री थुपारेको थियो।
लामा समानान्तर उद्योगले पनौती–२ रोशी खोलामा अर्को क्रसर पनि खोलेको थियो। अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन गर्दै आएको लामा समानान्तरको पनि दर्ता कागजात फेला नपरेको कार्यदलले बताएको छ।
पनौती–२ मा कार्की रोडा–ढुंगा उद्योग पनि सञ्चालनमा छ। राजेन्द्र पौड्याल सञ्चालक रहेको उक्त खानी २०७२ सालमा जिल्ला विकास समिति र २०६५ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरिएको छ। उसले पनि खोलामै खेर जाने पदार्थ फाल्दै आएको कार्यदलले बताएको छ।
यसबाहेक पनौतीमा राजेन्द्र श्रेष्ठले रोशी खोला रोडा–ढुंगा उद्योग, दीपक भण्डारीले डायमन्ड रोडा–ढुंगा उद्योग सञ्चालनमा ल्याएका छन्। त्यस्तै, पनौती–१२ मै रोशी रोडा–ढुंगा उद्योग चलायमान छ। रोशी रोडा–ढुंगाको त दर्ता र सञ्चालकसमेत थाहा हुन नसकेको कार्यदलले बताएको छ। पछिल्लो समय उक्त उद्योग बन्द छ।
पनौती–१२ मगर गाउँमा ओम हिमाल रोडा–ढुंगा उद्योग सञ्चालनमा छ। हेमराज गुरूङ सञ्चालक रहेको उक्त उद्योग दर्ता नै भएको छैन। उसले पनि खानीबाट निस्कने सामग्री सिधै खोलामा मिसाउने गरेको कार्यदलले बताएको छ।
जिल्ला समन्वय समितिका एक अधिकारीले दिएको जानकारीअनुसार यी त देखिने सञ्चालक मात्र हुन्। यसबाहेक कांग्रेस राजनीतिमा सक्रिय एक नेता र बागमती प्रदेशका एक पूर्वमन्त्रीको पनि संलग्नता रहेको ती अधिकारीको दाबी छ।
'उनीहरू प्रत्यक्ष देखिएका छैनन्। तर प्रशासनले नियमन गर्न खोज्यो भने चासो देखाउँदै आउँछन्,' ती अधिकारीले भने।
गाउँपालिका अध्यक्ष नै चलाउँछन् क्रसर!
नमोबुद्ध नगरपालिकाका अध्यक्ष कुन्साङ लामा नै क्रसर सञ्चालक हुन्। उनले मुकुन्द अधिकारीसँगको साझेदारीमा नमोबुद्ध–६ खरीबोटमा क्रसर सञ्चालन गरेको कार्यदलको प्रतिवेदनमा छ।
ब्लुसाइन रोडा तथा ढुंगा उद्योगको नाममा सञ्चालित यो क्रसर २०६६ सालमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको देखिन्छ। त्यस्तै, २०७८ सालमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको अभिलेख छ।
यो पनि मापदण्डअनुसार चलेको छैन। अवैध ढंगले नदीजन्य सामग्री उत्खनन गरिएकाले बस्ती नै जोखिममा रहेको, पानीका मुहान सुकेको प्रतिवेदनले औंल्याएको छ। यो खानीले पनि खेर जाने पदार्थ नदीमै थुपारेकाले खोलाले धार परिवर्तन गर्न सक्ने जोखिम औंल्याइएको थियो।
दुई वर्षअघि नै बुझाइएको प्रतिवेदनमा अधिकांश उद्योगले खानी–क्रसरबाट उत्पादित खेर जाने पदार्थ व्यवस्थापन नगरेको किटान गरिएको छ। यसले खोला र खोल्साको बहाव परिवर्तन हुन सक्ने, खोल्सा हुँदै नदीमा थिग्रिएर तल्लो तटीय क्षेत्रमा असर गर्ने भएकाले प्रमुख समस्याका रूपमा रहेको औंल्याइएको छ।
उक्त कार्यदलले १२ वटा सुझाव दिएर यथाशीघ्र कार्यान्वयन गर्न भनेको थियो। खानी उत्खननका लागि अनुमतिप्राप्त स्थानभन्दा बाहिर र सार्वजनिक, पर्ती जग्गामा उत्खनन गरिरहेका खानीलाई स्थानीय पालिकाले तत्काल बन्द गराउने सुझाव दिइएको थियो।
नदी, खोला, वन क्षेत्र तथा राजमार्गको दुरीसम्बन्धी मापदण्ड पालनामा समस्या रहेकाले केन्द्रीय तहबाटै समाधानका लागि पहल गर्नुपर्ने पनि सुझाव दियो।
अवैध क्रसर ढुंगा–खानीले निम्त्याएका विध्वंशबारे जनप्रतिनिधिहरूले अझै मुख खोल्न सकेका छैनन्। बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका बसुन्धरा हुमागाईं सबै दोष खानीलाई मात्र दिन नहुने बताउँछन्।
उनले त्यस भेगमा २०३८ सालमा पनि बाढी गएको इतिहास बताए। यसपटक पानी नै घनघोर परेकाले डाँडाकाँडा नै बगेको उनको भनाइ छ।
'खानी नभएका ठाउँमा पनि पहिरो चलेका छन्। कतै बस्नयोग्य ठाउँ छैन,' उनले भने, 'खानी नचलाऊ भन्यो भने निर्माण सामग्री कताबाट ल्याउने? तर त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ। खानीबाट निस्किएको खेर जाने पदार्थ व्यवस्थापन गर्नुपर्छ।'
वडाध्यक्ष जयराम केसी पनि खानीका कारण समस्या निम्तिएको स्थानीयले बताए पनि त्यो मात्र कारण नरहेको बताउँछन्।
महाभारत लेकको कतिपय भाग नै फुटेर ठुल्ठूला रूख बगाएर ल्याएकाले नदीले धार परिवर्तन गरेको उनले बताए।
'ठूल्ठुला रूख बगाएर ल्यायो। ठाउँ ठाउँमा तेर्सिँदा खोलाले धार फेर्यो। गाउँमा विनाश निम्तियो,' उनले भने।
यो पनि: 'यस वर्ष बाँचे न राहत थाप्ने हो!'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी















