बार्सिलोनालाई ३–१ गोलले पराजित गरेको खेलमा रेफ्रिलाई धकेलेको आरोपमा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध लागेको छ।
आइतबार राती स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए। उनलाई दुई वटा पहेँलो कार्डका लागि एक खेल प्रतिबन्ध निश्चित थियो। तर, रेफ्रिलाई धकेलेको आरोपमा उनीमाथि थप ४ खेलको प्रतिबन्ध तोकिएको हो।
नोउ क्याम्पमा भएको खेलमा दोस्रो गोल गरेपछि जर्सी खोलेर रोनाल्डोले उत्सव मनाएका थिए। जसका लागि उनलाई पहिलो पहेँलो कार्ड र डिबक्स भित्र लडेको स्वाँङ गरेको आरोपमा दोस्रो पहेँलो कार्ड देखाइएको थियो। आफूमाथि दोस्रो पहेँलो कार्ड देखाए पछि ३२ वर्षीय रोनाल्डोले रेफ्रिलाई धकेलेका थिए।
रोनाल्डोले अब बुधबार हुने दोस्रो लेगको खेल गुमाउने छन्। उनले १० दिनभित्र आफूमाथि लागेको प्रतिबन्धविरुद्ध पूर्नविचारका लागि निवेदन दिन पाउने छन्। पोर्चुगिज स्टारले च्याम्पियन्स लिगको खेल खेल्न पाउने छन्। तर, घरेलु लिगमा रियल बेटिसविरुद्ध सेप्टेम्बर २० मा हुने खेलसम्म प्रतिबन्ध झेल्ने छन्।
आइतबार रोनाल्डो २४ मिनेट मैदानमा देखा परेका थिए। उनको करिअरको यो १० औं रातो कार्ड थियो।