शान्ति सुरक्षा भाँड्ने खालका अभिव्यक्ति दिएको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंले केही दिनअघि धार्मिक गुरूहरूको मठमै गएर आफ्नो आन्दोलन र आर्थिक सहायताबारे छलफल गरेका थिए।
पक्राउ पर्नुभन्दा केही दिनअघिको उक्त छलफलको भिडिओ 'हिमाल न्यूज' ले सार्वजनिक गरेको छ। त्यसमा माला लगाएर बसेका प्रसाईंले धर्मगुरूसँग आफ्नो आन्दोलनका लागि आर्थिक सहयोग मागेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गतिविधि गरिरहेका प्रसाईंले नेपालको राष्ट्रियता र हिन्दु धर्म खतरामा परेको भन्दै त्यसलाई जोगाउने आन्दोलनका लागि धर्मगुरूहरूसँग चन्दा मागेका हुन्।
'यो आन्दोलनलाई सहयोग गर्न तपाईंहरू के गर्न सक्नुहुन्छ? बिनापैसा त आन्दोलन हुँदैन। मैले लड्ने यो अन्तिम लडाइँ हो,' उनले भनेका छन्, 'यो लडाइँ लड्न मलाई हतियार चाहिएको छ। हतियार भनेको बन्दुक वा गोलीगठ्ठा होइन। मलाई अहिले पैसा चाहिएको छ।'
'यो पैसा मैले व्यक्तिगत प्रयोगका लागि माग्न आएको होइन। देश जोगाउन पैसा चाहिएर माग्न आएको हुँ,' उनले भनेका छन्।
यति मात्र होइन, उनले आफ्नो आन्दोलनमा सहयोग गर्न देशभरिबाट साधुसन्त बोलाउन पनि धर्मगुरूहरूसँग आग्रह गरेका छन्।
'म गेरूवस्त्र बिनाको जोगी हुँ। दुर्गा माताको भक्त हुँ। मैले पाथीभरा माताको दर्शन गर्न जाँदा आफ्ना छोराछोरीका लागि केही मागिनँ। यो व्यवस्था परिवर्तन गर्ने, संविधान परिवर्तन गर्ने शक्ति दिनुस् भनेर मागेँ,' उनी भन्छन्, 'यो व्यवस्था परिवर्तन भएन भने म आफ्नो मुख देखाउन आउँदिनँ भनेर पाथीभरा मातालाई भनेर आएको छु।'
दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता र धर्मको दुहाइ दिँदै आन्दोलन गर्ने नाममा चन्दा मागेको धर्मगुरूहरूसँग मात्र होइन। उनले विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी (सिइओ) हरूसँग पनि चन्दा मागेको खुलेको छ।
हामीले विभिन्न बैंकका सिइओसँग कुरा गर्दा करिब आधा दर्जन सिइओले दुर्गा प्रसाईंको समूहबाट चन्दा माग गर्दै चिठी आएको पुष्टि गरे।
'उहाँहरूले चिठी पठाएर आर्थिक सहायता माग गर्नुभएको छ,' एक सिइओले भने।
अर्का बैंकका सिइओले चिठीका अतिरिक्त चन्दा माग गर्दै मौखिक कुराकानी पनि भएको जानकारी दिए।
'पक्राउ पर्नुभन्दा अगाडि उहाँले मौखिक कुराकानी गरेर चन्दा माग गर्नुभएको थियो,' ती सिइओले प्रसाईंको भनाइ उद्धृत गर्दै भने, 'तपाईंहरूले विगतमा कांग्रेस र एमालेलाई आर्थिक सहयोग गर्नुभयो, अब मलाई सहयोग गर्नुपर्यो।'
बैंक तथा वित्तीय संस्थाले ऋण मिनाहा गर्नुपर्छ भन्ने मागसमेत राख्दै आएका प्रसाईंले आफू बैंकहरूविरूद्ध होइन, संविधानविरूद्ध नै लागेकाले सहयोग गर्न आग्रह गरेको ती सिइओले जानकारी दिए।
'तपाईंहरू मलाई बैंकविरूद्ध लागेको मान्छे भनेर नसोच्नुस्। म बैंकहरूविरूद्ध लागेको होइन। मेरो आन्दोलन संविधानविरूद्ध हो। त्यसैले पहिले कांग्रेस र एमालेलाई सहयोग गरेजस्तै अब मलाई सहयोग गर्नुस्,' प्रसाईंको भनाइ उद्धृत गर्दै ती सिइओले भने।
सिइओहरूले शुक्रबार बस्ने नेपाल बैंकर्स संघको बैठकमा पनि प्रसाईंबाट चन्दा माग गरिएको विषय उठाउने तयारी गरिरहेका छन्।
दुर्गा प्रसाईंको चन्दा आतंकबारे हामीले केही उद्यमी–व्यवसायीसँग पनि कुरा गरेका थियौं। आधा दर्जन उद्यमी–व्यवसायीसँग कुरा गर्दा उनीहरूले प्रसाईंले आफूहरूसँग चन्दा नमागेको बताए।
प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। देश गृहयुद्धमा जान लागेको र त्यसका लागि रासनपानी बन्दोबस्त गरेर राख्नू भन्ने जस्ता अभिव्यक्ति दिएर उनले समाजलाई भ्रमित पार्दै आएका थिए। सामाजिक सञ्जालमा भाइरल भइरहेका उनका अभिव्यक्ति पत्याएर धेरैमा डर र त्रास छाएको थियो।
त्यसबाहेक राजनीतिक तथा निजी क्षेत्रका सार्वजनिक व्यक्तित्वमाथि लाञ्छना लगाउने काम पनि उनले गर्दै आएका थिए। पुष्टि नभएका आधारहिन र भ्रमपूर्ण सूचना फैलाएर राज्यविरूद्ध भड्काउने अभिव्यक्ति पनि दिँदै आएका थिए।
त्यही क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीतर्फ लक्ष्य गर्दै व्यक्तिगत गालीगलौजपूर्ण अभिव्यक्ति र प्रहरीलाई लक्ष्य गर्दै भड्काउ भाषण दिएपछि शान्तिसुरक्षाको निम्ति पक्राउ गरिएको हो।
विगतमा साइबर अपराध कसुरमा समेत पक्राउ परेका प्रसाईं यसपालि चौथो पटक समातिएका हुन्। सर्वोच्च अदालतले उनलाई २४ घन्टाभित्र उपस्थित गराउन भनेको छ।
***