सहिद परिवार
भदौ २३ गते। दिउँसो १२ बजेको थियो।
असाहाव आलम ठकुराईले आमा नजला खातुनलाई फोन गरे। त्यति बेला उनले आफू कोठामा खाना खाएर बसिरहेको बताएका थिए।
दिनहुँ कलेजबाट फर्किएपछि उनी घरमा फोन गर्थे। त्यस दिन पनि १२ बजेतिर फोन गरेर हालखबर बुझेका थिए।
त्यस दिन काठमाडौंमा जेनजी आन्दोलन थियो। तर त्यसबारे असाहावले घरमा केही बताएनन्।
उनका भाइ मुराद आलम ठकुराईले भने, 'सधैंझैं हालखबर सोधपुछ गरेर फोन राखिदिनुभएको थियो। आन्दोलनबारे केही नभनेकाले त्यतातिर हामीले पनि ध्यान नै दिएनौं।'
त्यो दिन दोहोर्याएर असाहाव र परिवारबीच कुराकानी भएन। भदौ २४ गते बिहान असाहावले ढिलासम्म घरमा फोन गरेनन्। त्यसपछि उनकी श्रीमती रोक्सिता खातुनले फोन गरेकी थिइन्। फोन लागेन।
२४ वर्षीय असाहावको साढे दुई महिनाअघि मात्र भारत, बिहारकी रोक्सिता खातुनसँग बिहे भएको थियो। उनीहरूले आफ्नो नयाँ जिन्दगी राम्ररी सुरूआत समेत गर्न पाएका थिएनन्। बिहेको छोटो समयमै असाहाव पढ्न र कामका लागि काठमाडौं आएका थिए।
पर्सा, वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मा जन्मेका असाहाव घरका तेस्रो सन्तान थिए। उनीहरू पाँच दाजुभाइ हुन्।
उनी वीरगन्जकै ग्लोबल बिजनेस कलेजबाट कक्षा १२ सकेर थप पढ्न तीन वर्षअघि काठमाडौं आएका थिए। चाबहिलमा डेरा थियो। मध्यबानेश्वरको प्रोफेसनल स्कुल अफ होटल म्यानेजमेन्ट कलेजमा पढिरहेका थिए।
'पढ्ने र आफ्नो काम गर्नेबाहेक अरूतिर लागेको थिएन,' असाहावका भाइ मुरादले भने, 'त्यस्तो भिडभाड र आन्दोलनमा जाने मान्छे पनि थिएन।'
जेनजी प्रर्दशनीको पहिलो दिन असाहाव र परिवारबीच केही कुराकानी भएन।
दोस्रो दिन दिउँसो एक बजेसम्म उनको फोन नआएपछि रोक्सिताले फोन गरिन्। नेटवर्क वा अरू समस्याले नलागेको होला भन्ठानिन्।
भोलिपल्ट पनि असाहावको फोन आएन। सामाजिक सञ्जालमा सक्रिय पनि देखिएनन्। त्यसपछि भने घरबाट खोजी सुरू भयो।
'कर्फ्यु थियो। त्यसैले तत्काल काठमाडौं आउन सकेनौं,' मुरादले भने, 'आफन्तहरूलाई खोज्न लगायौं। महाराजगन्ज टिचिङ अस्पतालमा लास भेटियो।'
भदौ २५ गते अपराह्नतिर असाहावको शव फेला परेको खबर पाएपछि मुरादसहित परिवारका सदस्यहरू काठमाडौं आए।
'टिचिङ अस्पतालमा लास छ भन्ने सुन्दा हामी त छक्कै पर्यौं। अचम्म लाग्यो,' मुरादले भने, 'आन्दोलनमा गएको नै थाहा थिएन। तीन दिनपछि लास भेटियो।'
परिवार नै शोक र आश्चर्यमा पर्यो। असाहाव आन्दोलनमा गए होला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।
काठमाडौं आएपछि मुरादले उनका साथीहरूसँग बुझे।
'साथीहरूले भने अनुसार असाहाव भदौ २३ गते दिउँसो पठाओ गर्न डेराबाट निस्किएको थियो। यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेर मृत्यु भयो,' मुरादले भने।
उनको छाती र पेटमा गरी दुइटा गोली लागेको थियो।
'बिहीबार राति काठमाडौं आइपुगेका थियौं। शुक्रबार परीक्षण लगायत प्रक्रिया पूरा गरेर शनिबार घर फर्कियौं। शनिबार नै अन्त्येष्टि गर्यौं,' उनले भने, 'दाइको भदौ २३ गते नै मृत्यु भएको भनेका छन्। तर कहाँ, कसरी गोली लाग्यो भन्ने कुरा अझै प्रस्ट छैन।'
जे हुनु भइसकेको तर अब सरकारले आफ्ना दाइको योगदान खेर जान नदिन अनुरोध गरेका छन्।
मृतक परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजागारीको व्यवस्था हुनुपर्ने उनको माग छ। जेनजी सहिद परिवार संघर्ष समितिको माग पनि सरकारले सम्बोधन गरिदेओस् भन्ने उनले आग्रह गरे।
उनले भने, 'हाम्रो परिवार कुनै पनि राजनीतिक दलमा आवद्ध छैन तर हामी परिवर्तन चाहेका जनता हौं। त्यसैले मेरा दाइ असाहावसँगै अरू सहिदको मृत्युको बलिदान खेर नजाओस्!'