इङ्लिस प्रिमियर लिग च्याम्पियन चेल्सी सिजनको पहिलो खेलमै बर्नलेसँग आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा ३–२ गोलले पराजित भएको छ।
शनिवार राती सिजनको पहिलो खेल खेल्न उत्रिँएको चेल्सीका लागि त्यतिबेला सबैभन्दा ठूलो दुःखको क्षण भयो, जब उसका दुई खेलाडी रातो कार्ड खाएर मैदान बाहिरिन बाध्य भए। ९ खेलाडीमा सिमित प्रिमियर लिग विजेता टोलीविरुद्ध बर्नलेले पहिलो हाफमै ३ गोल गरिसकेको थियो।
कप्तान गेरी काहिल बर्नलेका स्टेभन डिफोरलाई खराब ट्याकल गरेको आरोपमा १४ मिनेटमा मैदान बाहिरिन बाध्य भए। यसपछि बर्नलेले आक्रामक खेल प्रस्तुत गर्यो। साम भोकेसले २४ र ४३ मिनेटमा २ गोल गरे। अर्को गोल स्टेफन वार्डले ३९ मिनेटमा गरे।
दोस्रो हाफमा चेल्सीले दुई गोल फर्काए पनि सेस फार्बिग्रासलाई ८१ मिनेटमा गुमाएको थियो। अल्भारो मोराटाले ६९ मिनेटमा र डेभिड लुइजले ८८ मिनेटमा गोल गरेका थिए।
गत सिजन पनि लेस्टर सिटीले लिग च्याम्पियन हुँदा पहिलो खेल गुमाएको थियो।