बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पहिलो पल्ट नेइमारको ठूलो आलोचना गरेका छन् र उनले ब्राजिलियन स्टारले आफ्नो क्लबलाई धोका दिएको आरोप लगाएका छन्।
उनले १० महिनाअघि बार्सिलोनाले ५ वर्षको लागि उनको सम्झौता नवीकरण गरिरहेको बेलादेखि नै उनी पेरिस सेन्ट जर्मन (पिएसजी) को सम्पर्कमा रहेको आशंका व्यक्त गरे।
नेइमार विश्व कीर्तिमानी रकममा गत शुक्रबार बार्सिलोना छोडेर पिएसजीमा स्थानान्तरण भएका थिए। बार्टोमेउले भने, ‘जुन प्रकारको काम उनले गरे त्यसलाई कदापी राम्रो मान्न सकिन्न। ऊ बार्सिलोनाको खेलाडीले गर्ने व्यवहार होइन।’
पिएसजीसँग अनुबन्धको हल्ला चलिरहँदा नेइमार गुपचुप बसेका थिए। तर, गत बुधबार बार्सिलोनाको अभ्यास सत्रमा फर्किएका नेइमारले क्लब छोड्न चाहेको र यसका लागि अनुमति माग गरेका थिए।
नेइमारले बार्सिलोनासँग क्लब छोड्ने अनुमति माग गरेको दुई दिनपछि नै पिएसजीमा आवद्ध भएका थिए।
गत अक्टुवरमा पाँच वर्षका लागि सम्झौता नवीकरण गर्दा आफूहरुलाई नेइमारप्रति विश्वास नभएको कारण उनलाई बेच्ने रकम एक्कासी बढाएको खुलासा गरे। ‘हामीलाई आशंका थियो, त्यसैले उनलाई रोक्न बेच्ने रकम २२ करोड २० लाख युरो पुर्याएका थियौ,’ बार्टोमेउले भने।
उनले क्लब छोडेर गएपनि खेलाडीको रुपमा नेइमार गजबको भएको प्रतिक्रिया दिए।