यो सिजनको युरोपियन गोल्डेन बुटको उपाधि बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले जित्ने लगभग पक्का भएको छ। यही साता सकिने ला लिगामा ३८ मध्ये ३७ खेल खेलिसकेको बार्सिलोनाका लागि मेसीले १ खेल खेल्न बाँकी रहँदा ३४ गोल गरिसका छन्।
मेसीलाई कडा टक्कर दिइरहेका इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलका मोहम्मद सालाहले ३२ गोल गर्दै सिजन अन्त्य गरेसँगै मेसीको सम्भावना बढेको हो।
यस्तै सर्वाधिक गोल गर्ने तेस्रो स्थानमा रहेका टोटनह्यामका ह्यारी केनले पनि यो सिजन ३० गोल गर्दै लिग सकाएका छन्।
चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीले जर्मन प्रिमियर लिगमा (बुन्डेसलिगा) का लागि ब्रायन म्यूनिकका तर्फबाट २९ गोल गर्दै लिग अन्त्य गरेका छन्।
यस्तै इटालिइन सिरिएमा २९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाँकी छ। तर घाइते भएकाले उनले अन्तिम खेल गुमाउने पक्का छ।
अब २८ गोलमा रहेका इन्टर मिलानका मौरो इकार्डी र पिएसजीका काभानीले अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे भने मात्र मेसीलाई भेट्नेछन्। तर अन्तिम खेलमा मेसीले १ गोल गरेमा त्यो पनि समाप्त हुनेछ।
यो सँगै ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधिसमेत मेसीले जित्नेछन्।
यता रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले २५ तथा लुइस स्वारेजले २४ गोल गरेका छन्।
यस सिजन मेसीले सबै प्रतियोगितामा गरी ५३ खेलबाट ४५ गोल र १८ असिस्ट गरेका छन्।
यसअघि ४ पटक युरोपियन गोल्डेन बुटको अवार्ड जितेका मेसीले सन् २०११-१२ को सिजन ५० गोल गरेका थिए।
सन् २००९-१० को सिजनमा ३४ गोल गर्दै अवार्ड जितेका थिए। २०१२-१३ मा ४६ गोल गरेका मेसीले २०१६-१७ मा ३७ गोल गरिसकेका छन्। अब सन् २०१७-१८मा उपाधि जित्दै पाँचौ पटक युरोपियन गोल्डेन बुट पाउने एक्ला खेलाडी बन्नेछन्।
यस्तै क्रिस्टियानोझ रोनाल्डोले एक पटक संयुक्तसहित ४ पटक यो उपाधि जितिसकेका छन्। उनले सन् २०१३-१४ मा लिभरपुलबाट इङ्लिस प्रिमियर लिग खेलेका लुइस स्वारेजसँग समान ३१ गोल गरेपछि उपाधि बाँडेका थिए।
यदि यो उपाधि मेसीले जितेभने सबैभन्दा धेरै युरोपियन गोल्डेन बुट जित्ने क्लब बार्सिलोना नै हुनेछ। क्लबले सात पटक उपाधि जित्नेछ। यसअघि सन् १९९६-९७ मा रोनाल्डोले बार्साका लागि ३४ गोल गर्दै अवार्ड जितेका थिए। त्यसपछि सन् २०१५-१६ मा लुईस स्वारेजले ४० गोल गर्दै अवार्ड हात पारेका थिए।