अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’
उनले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबै खाले मिलेमतोहरू रोक्ने विश्वास समेत दिलाएका छन्।
उनले भने,‘हामी सबै खेलाडीहरूको गतिविधि नियाल्छौं, उनीहरूले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौं।’
अध्यक्ष शेर्पाले पछिल्लो समय फुटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने,‘फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रीत हुन्छौं, यसका लागि विज्ञहरूसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं।’
एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाइ थियो।
अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने,‘त्यो सफ्टवेयर मार्फत् नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत् पनि हामी अघि बढ्छौं।’
उनले अहिले आर्थिक नियमावली नभएको स्पष्ट पारे। उनले थपे,‘अब हामी आर्थिक नियमावली बनाउँछौं, यो नियमावली बन्ने बित्तिकै फुटबलमा देखिएको अनियमितता अन्त्य गर्नको लागि महत्वपूर्ण हुन्छ।’
अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई आइटीमा लैजाने पनि विश्वास दिलाए । उनले भने,‘क्लब दर्तादेखि लिएर खेलाडीहरुको दर्ता पनि अब अनलाइनबाटै गर्छौं, र खेलाडीहरूले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्न सक्ने व्यवस्था हामी गर्छौं।’
तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागि भोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए।
त्यस्तै, ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिने पनि उनले जनाए । उनले भने,‘यी एकेडेमीहरू सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरू उत्पादन गर्न पनि हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ।’
उनले आफू एन्फाको नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरूलाई बाह्रै महिना खेल्ने वातावरण बनाउने पनि दाबी गरे । उनले भने,‘बाह्रै महिना खेल्ने वातावरण बन्ने बित्तिकै खेलाडीहरूको अभाव पनि हुँदैन, यसले खेललाई पनि गुणस्तरीयता प्रदान गर्नेछ।’
नेपाली फुटबलको विकासको लागि सबै क्लबहरूलाई आर्थिक तथा भौतिक रूपमा दिगो बनाउने आफ्नो लक्ष्यको रहेको सुनाउँदै शेर्पाले भने,‘म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु।’
अझैपनि नेपाली फुटबल खेलाडीहरूले मासिक डेढदेखि २ लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यवसायिक लिग खेलाउने तयारी गरिरहेको उनले सुनाए।
https://youtu.be/cwDLefLTEhA