दक्षिण कोरिया तेक्वान्दोको जन्मभूमी हो। विश्व तेक्वान्दोको हेडक्वार्टर कुकिवान पनि दक्षिण कोरियामै छ।
ओलम्पिक खेल तेक्वान्दोका खेलाडीका लागि कोरियामा खेल्नु एउटा लक्ष्य जस्तै हुन्छ। अझ त्यहाँ प्रतियोगिता गराउनुलाई ठूलो सफलता हो।
यस्तै सफलता प्राप्त गर्ने तेक्वान्दो प्रतियोगिता बनेको छ- इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)।
आइओएफसीको १४औं संस्करण गत अगस्टमा दक्षिण कोरियाको सोलमा सम्पन्न भयो।
यसको जम्नदाता ग्रान्डमास्टर दिवाकर महर्जन हुन्। उनकै पहलमा हरेक दुई-दुई वर्षमा आइओएफटिसी प्रतियोगिता हुँदै आएको छ।
एक संस्करण अमेरिका र अर्को संस्करण दोस्रो देशमा गर्ने परम्पराअनुसार २०२४ को १४औं संस्करण कोरियामा आयोजना भएको हो।
तेक्वान्दोको जन्मभूमी भए पनि गैर-कोरियनका लागि प्रतियोगिता आयोजना कठिन र चुनौतीपूर्ण भएको अनुभव महर्जनले गरे।
‘सुरूमा आयोजनाको अनुमति लिन नै समस्या भयो,’ महर्जनले भने, ‘भाषाको अर्को समस्या थपिदा हामीलाई सुरुमा निकै गाह्रो भएको थियो।’
यस्ता समस्याले गर्दा कोरियामा अरू देशका व्यक्तिले यसअघि तेक्वान्दो प्रतियोगिता गर्न आँट सकेका थिएनन्। तर महर्जनले भने यि समस्या चिर्दै प्रतियोगिता आयोजना गराइछाडे।
तर आफ्नो उद्देश्य तेक्वान्दोमार्फत् विश्वभर मैत्रीभाव जगाउने र तेक्वान्दो खेलको प्रवर्धनका लागि दुई दशकसम्म प्रतियोगिता आयोजना गरेको अनुभव देखाए पछि प्रतियोगिता आयोजना गर्न अनुमति प्राप्त भएको महर्जनले बताए।
प्रतियोगिताको स्थानीय आयोजकको जिम्मा कोरियन मार्सल आर्टलाई दिइएको थियो भने प्रतियोगिता क्युन्मिङ विश्वविद्यालयमा भएको थियो।
सिनियर पुरुष र महिलाको समान आठ-आठ तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइएको प्रतियोगितामा ६५० खेलाडी सहभागी भए। जसमा ८ देशका खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।
नेपालसहित दक्षिण कोरिया, अमेरिका, भारत, श्रीलंका, फिलिपिन्स, अस्ट्रेलिया र जापानका खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।
नेपालबाट छनोट भएका खेलाडीले भिसा आवेदनका लागि समय पाउन नसक्दा एक जना खेलाडीले मात्र सहभागी जनाएका थिए।
नेपालबाट सहभागी भिजन तामाङले पुरुष ४० केजीमुनि तौल समूहमा स्वर्ण जित्न सफल भएका थिए।
२५औं वर्षमा आइओएफटिसी
आइओएफटिसी सन् २००० मा काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट सुरू भएको थियो। यस वर्ष दक्षिण कोरियाको सोलमा १४औं संस्करण आयोजना भएसँगै प्रतियोगिताले २५औं वर्षमा प्रवेश गरेको छ। २५ वर्षमा १४ वटा प्रतियोगिता गर्न सफल भएकोमा महर्जन निकै हर्षित छन्।
‘हामीले तेक्वान्दो खेल्न चाहाने जो कोहीलाई पनि अवसरबाट बन्चित हुन नपरोस भनेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सन् २००० मा सुरूवात गरेका थियौं,’ महर्जनले भने, ‘आज यो प्रतोयोगिता २५औं वर्षमा पाइला टेकेकोमा निकै गर्व लागेको छ।’
सामाजिक भावनाले प्रतियोगिता आयोजना गर्दै तेक्वान्दो खेलाडीको हितका लागि काम गरे पनि महर्जनले पहिलो संस्करणदेखि नै चुनौती खेप्न पर्यो। यो संघर्ष अहिले पनि जारी नै छ।
‘सन् २००० को संस्करणदेखि नै हामीलाई असफल बनाउन तेक्वान्दोकै मानिसहरु पनि लागे। त्यो क्रम अहिले पनि जारी नै छ,’ महर्जनले भने, ‘हामीले राम्रो उद्देश्यका लागि काम गरेकाले अहिलेसम्म सफल हुँदै आएका छौं।’
गैरनाफामुलक संस्थाको रूपमा अघि बढेको आइओएफटिसीलाई महर्जन लगायतका अमेरिकामा रहेका स्वमसेवक व्यक्तिले आफ्नो समय र पैसा खर्च गर्ने गरेका छन्।
पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर हुँदै आएको आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत, हङकङ, दक्षिण कोरिया र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ। महर्जनले २५औं वर्षमा पुगेको उपलक्ष्यमा केही विषेश कार्यक्रम आयोजना गर्ने सोच समेत बनाएका छन्। यसरी आइओएफटिसीमार्फत् तेक्वान्दो खेलको प्रवर्धन गरिरहेका महर्जन तेक्वान्दोको ‘सुपर क्लास’ (उच्च श्रेणी) को निर्णायक हुने पहिलो नेपाली हुन्। उनी गत वर्ष सुपर क्लासको निर्णयक भएका थिए।
उनी तेक्वान्दोका आठौं डान समेत हुन्। तेक्वान्दोमा आठौं डान पाउने नेपाली मध्येमा औलामा गन्न सकिने व्यक्तिमा उनी पर्छन्। उनले १९८६ मा पहिलो डान लिएका थिए। ३७ वर्षपछि उनले गत वर्ष आठौं डान लिए।
महर्जनले तेक्वान्दोका डानसँगै हप्किडोको पनि आठौं डानको परीक्षा दिएका थिए। त्यसमा पनि उनी सफल भए।
तेक्वान्दोको सुपर क्लास निर्णायक र आठौं डन लिएर उच्च श्रेणीको तेक्वान्दोकर्मी बनिसकेका महर्जनको बाल्यकाल ललितपुरको पाटनमा बितेको थियो।
दक्षिण कोरियाका चिफ ग्रान्ड मास्टर जेके सिन कोरियाबाट आएर तेक्वान्दो सिकाउन थालेपछि नेपालमा तेक्वान्दो विकास हुन थालेको हो। सन् १९८२ को डिसेम्बरमा पहिलो पटक नेपाल भ्रमण आएका सिनले त्यसपछि नेपालमा तेक्वान्दो भित्र्याएका थिए।
धेरै प्रतियोगितामा भाग लिन नपाएका महर्जनले युवा अवस्थामै तेक्वान्दो सिकाउन थालेका थिए। सन् १९८६ मा उनले दशरथ रंगशालामा सिकाएक थिए। त्यसपछि उनले खेलकुद परिषदमा जागिर समेत पाए।
उनले पाटनमा मैत्री तेक्वान्दो डोजाङ समेत स्थापना गरेका थिए। २०५० सालको दर्ता भए पनि उनले दर्ताअघि नै डोजाङ स्थापना गरेका हुन्।
सन् १९९४ मा अमेरिकाको पुगेका उनले त्यहाँका खेलाडीसँग मिलेर सन् १९९५ मा अमेरिकाको पोर्टल्यान्डमा युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडको स्थापना गरे। जुन तेक्वान्दो स्कुल अहिलेसम्म पनि निरन्तर चलिरहेको छ।
अमेरिका तेक्वान्दो स्कुल स्थापना गरेपछि उनले सन् २००० देखि इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) सुरुवात गरे।