शरीरमा युरिक एसिड बढेर हैरान भएपछि बुटवलका गोपाल ज्ञवालीलाई चिकित्सकले प्रशस्त पानी पिउन र खलखली पसिना आउने गरी व्यायाम गर्न सुझाब दिए।
युरिक एसिड बल्झिँदै गएर उनलाई सिँढी चढ्न र हिँडडुल गर्न कठिन भएको थियो। कहिलेकाहीँ व्याडमिन्टन र भलिबल खेल्थे, घुँडा दुख्न थालेपछि त्यो पनि छोडेका थिए। चिकित्सकको सल्लाहअनुसार पानी पिउँदै पिसाब गरेको गर्यै गर्न त समस्या भएन तर पसिना आउने व्यायाम चाहिँ के गर्ने! गोपालले चिकित्सकले भनेअनुसार पसिना बगाउन ब्याडमिन्टन र भलिबल खेल्न सुरू गरे।
करिब १३ वर्षअघिको कुरा, ब्याडमिन्टन खेल्दै गर्दा कालिकानगरका अशोक गुरूङसँग गोपालको संगत भयो। लन टेनिसका सौखिन अशोकले आफ्नै बारीमा टेनिस कोर्ट र त्यहाँ खेल्ने सानो टिम पनि बनाएका थिए। बुटवलमा नेपाली सेनाको ब्यारेकभित्र टेनिस कोर्ट थियो। बाहिर कतै कोर्ट नभएकोले खेलाडी पनि थिएनन्।
अशोक नेपाली सेना र नेपाल प्रहरीका खेलाडी बोलाएर लन टेनिस खेल्थे। कोर्ट सडक छेउमै भएकोले लन टेनिस खेलेको हेर्ने मानिस पनि हुन्थे।

अशोकको संगतले दर्शक बनेर हेर्दाहेर्दै गोपाललाई पनि लन टेनिसमा रूचि जाग्यो। कोर्टमा पसेर खेल्न थाले। खेल्दाखेल्दै खलखली पसिना आयो। युरिक एसिडको समस्यामा लन टेनिस लाभदायक हुने ठानेर दिनदनै खेल्न थाले।
‘धेरै पसिना बग्न थालेपछि युरिक एसिड निको पार्ने सबैभन्दा राम्रो उपाय नै लन टेनिस खेल्नु हो भन्ने लागेर अशोकसँग खेल्न थालें,’ गोपालले भने, ‘नियमित रूपमा खेल्न थालेपछि एक वर्षमै युरिक एसिडबाट मुक्ति पाएँ। अहिले कुनै समस्या छैन।’
उनले दलगातार तीन वर्ष आशोकसँग लन टेनिस खेले। खेल्दाखेल्दै खेल्ने बानी बस्यो। त्यतिबेला सम्म बुटवलमा १५ जना जति लन टेनिस खेलाडी तयार भइसकेका थिए। यसमा युवाहरू धेरै थिए। युवाको आकर्षण देखेपछि अशोक र गोपाल मिलेर लन टेनिसको संस्थागत विकासमा अघि बढे।
खेलाडीहरूको एउटा समूह तयार भएपछि उनीहरूले २०७१ सालमा ‘रूपन्देही लन टेनिस संघ’ गठन गरे। संघमा अशोक अध्यक्ष र गोपाल सचिव चुनिए।त्यसको दुई वर्षपछि नियमित खेल्ने खेलाडी मिलेर गोपालको अध्यक्षतामा २०७३ सालमा ‘बुटवल लन टेनिस क्लब’ गठन गरे। उनी रूपन्देही फुटबल क्लबका सल्लाहकार पनि थिए।
गोपाल बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीमा गइरहन्थे। एकेडेमीको मैदानको पश्चिमतर्फ खाली जमिन थियो। बुटवल उपमहानगरपालिका कार्यालयसँगको समन्वयमा त्यही खाली जमिनमा खेलाडीहरू नै मिलेर ११ लाख रूपैयाँमा सामान्य लन टेनिस कोर्ट तयार गरे।
यो कोर्ट बनेपछि गोपालकै सक्रियतामा २०७४ सालमा रूपन्देहीमा राष्ट्रियस्तरको पहिलो लन टेनिस टुर्नामन्ट आयोजना भयो। त्यस टुर्नामन्टमा काठमाडौं र पोखराबाट समेत खेलाडीहरू सहभागी भए।
लगत्तै अर्को वर्ष दोस्रो टुर्नामन्ट भयो। हरेक वर्ष टुर्नामन्ट हुन थालेपछि गोपालले सुविधासम्पन्न लन टेनिस कोर्ट बनाउने विचार गरे।
२०७५ सालमा तत्कालीन युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा एन्फा एकेडेमीको निरीक्षणका लागि बुटवल पुगेका थिए। मन्त्री विश्वकर्मालाई एकेडेमी निरीक्षण गराउने जिम्मेवारी सल्लाहकार रहेका गोपालले नै पाए। त्यही मौकामा उनले मन्त्री विश्वकर्मालाई एकेडेमी नजिकैको लन टेनिस कोर्ट पनि देखाए।
गोपालले बुटवलमा लन टेनिसको बढ्दो सम्भावनाको जानकारी गराउँदै राष्ट्रिय स्तरको टेनिस कोर्ट निर्माणका लागि सहयोग गर्न आग्रह गरे। मन्त्री विश्वकर्माको पहलमा सरकारले सोही वर्ष ८० लाख रूपैयाँ उपलब्ध गरायो।
अपुग रकम खेलाडी आफैंले जुटाएर सुविधासम्पन्न र आधुनिक लन टेनिस कोर्ट बनाए। कोर्ट बनेपछि २०७६ सालमा तेस्रो राष्ट्रिय टुर्नामन्ट आयोजना भयो।
त्यसपछि हरेक वर्ष बुटवलमा राष्ट्रिय लन टेनिसका टुर्नामन्ट हुने गरेको छ। यस वर्ष पनि सुरू भएको छ। गत मंगलबारदेखि कुल १०७ जना खेलाडीले ओपन र भेट्रानका विभिन्न ११ विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

सबै विधामा कुल ६ लाख २२ हजार रूपैयाँ पुरस्कार राखिएको छ। यस टुर्नामेन्टमा महिला र पुरूषको अलगअलग प्रतिस्पर्धा हुँदै छ।
अहिले गोपालको अगुवाइमा रूपन्देहीमा चारवटा आधुनिक कोर्ट सहितको ‘टेनिस भिलेज’ र्निााण भएको छ। उनको नेतृत्वमा रहेको ‘बुटवल लन टेनिस क्लब’ हाल ‘जिल्ला लन टेनिस संघ’ मा रूपान्तरण भएको छ। दुई वर्षयता गोपाल नै ‘जिल्ला लन टेनिस संघ’ का अध्यक्ष रहेका छन्।
युरिक एसिडको समस्या समाधान गर्न गोपाल अहिले बुटवलमा खेलाडी उत्पादनको काममा लागेका छन्। दुई जना प्रशिक्षक राखेर बालबालिकालाई विभिन्न खेल सिकाइरहेका छन्।
उनले भने, ‘आफ्नै स्वास्थ्यको लागि खेल्दै जाँदा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न र खेल खेलाउन पो पुगिएछ।’
उनले पनि लन टेनिसमा भेट्रानमा भाग लिने गरेका छन्।
हाल टेनिस कोर्टमा दैनिक १५–२० जना बालबालिकाले नियमित प्रशिक्षण लिने गरेका छन्। कोर्टमा बिहान क्लबका खेलाडी खेल्छन्, साँझ बालबालिकाको प्रशिक्षण चल्छ।
यहाँ सिकेका बालबालिका राष्ट्रियरूपमै लन टेनिसमा उत्कृष्ट बनेका छन्। गोपालका छोरा निश्चल यस वर्ष १० वर्ष उमेर समूहमा ‘नेपाल प्रथम’ भएका छन्। उनी आफ्ना बुबाले खेलेको देखेर सिक्दै अघि बढेका हुन्। उनी आठ वर्ष र नौ वर्ष उमेर समूहमा पनि नेपाल च्याम्पियन बनेका थिए।
गोपालका अनुसार बुटवलबाटै खेलाडी बनेका वृजेश अर्याल र ऋतिक विश्वकर्मा आफ्नो उमेर समूहमा ‘नेपाल टप’ भएका छन्। गोपालले छोरीलाई पनि टेनिस खेलाडी बनाउने सपना देखेका छन्।छोरी हाल चार वर्ष उमरकी छन्।
नारायणी नदीबाट पश्चिम लागेपछि बुटवलमा मात्र लन टेनिस कोर्ट रहेको गोपालको भनाइ छ।