नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान बिन्दु रावललाई क्रिकेट खेल्न चाहने बहिनीहरूले सोध्छन्– दिदी, क्रिक्रेटको भविष्य कस्तो छ? हामी खेलौँ कि नखेलौँ? खेलेर कहाँसम्म पुगिएला?
सिनियर क्रिकेटरबाट सिक्नुपर्छ र उनीहरूजस्तै बन्नुपर्छ भन्ने उत्साहले प्रश्न सोधेका हुन्छन्, तर बिन्दु अवाक हुन्छिन्। उनीसँग सिधा जवाफ हुँदैन। खेल, भविष्य उज्ज्वल छ भनेर ढुक्कले भन्न सक्दिनन्।
बिन्दु किन यस्तो अप्ठ्यारोमा पर्छिन्?
यसको खास कारण छ।
‘अहिले महिला टिमले राम्रो रिजल्ट (नतिजा) दिन नसक्दा खेलमा आउन चाहनेलाई खेल्नुस्, भविष्य राम्रो छ भन्न सकिने अवस्था भएन। नयाँ खेलाडीहरू घरबाटै रोकिन्छन्,’ उनी भन्छिन्, ‘नेपालमा क्रिकेटको चर्चा धेरै भए पनि खेलमा उज्यालो भविष्य नहुँदा घरबाट खेल्न पठाउने वातावरण भएन।’
उनी आफू चाहिँ किन खेल्दै छिन् त?
यसमा अलिकति बाध्यताले पनि काम गरेको छ। भन्छिन्, ‘म त खेलमा लागिसकेँ, पछाडि फर्किने ठाउँ छैन। गर्नलाई अर्को काम छैन।’
विद्यालयमा पढ्दा बिन्दु चन्चले स्वभावकी थिइन्। उनलाई खेलमा रूचि थियो। विद्यालयले आयोजना गर्ने सबै खेलमा सहभागी हुन्थिन्। उनी ‘टिफिन टाइम’ मा खाजा खान छोडेरै पनि दौडिँदै चौरमा पुग्थिन् र केटाहरूसँग क्रिकेट खेल्थिन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की स्थायी बासिन्दा बिन्दु हाल नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा उपकप्तानको जिम्मेवारीमा छिन्। सोहीअनुसार आफूलाई सक्रिय राखेकी छन्।
उनी सुदूरपश्चिमको टिमबाट राष्ट्रिय प्रतियोगिता खेल्छिन्।
भन्छिन्, ‘म आफ्नो ब्याटिङ सुधार गर्दै खेललाई नै जीवन सम्झेर अघि बढेकी छु।’
विद्यालयमा पढ्दा बिन्दुलाई उनका एक जना दाइले ब्याटर भएर क्रिकेट खेल्न सक्छ्यौ भनेका थिए। ती दाइले नै उनलाई महिला क्रिकेट खेलबारे बताएका थिए। दाइको कुराबाट प्रभावित भएर बिन्दुले क्रिकेट सिक्न सुरु गरेकी थिइन्।
उनले क्रिकेट खेल्न सिक्दै गर्दाको समय स्मरण गरिन्, ‘महेन्द्रनगरको खुलामञ्चमा वीरेन्द्र शाही क्रिक्रेट सिकाउनुहुन्थ्यो। मेरा सिनियर धेरै दाइदिदीहरूले त्यहीँ सिकेका हुन्।’
बिन्दुले पहिलोपटक आफ्नो घरेलु मैदानमा राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाइन्। छैटौँ राष्ट्रिय खेलकुद अन्तर्गत उनको टिमले महेन्द्रनगरमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफसँग प्रतिस्पर्धा गरेको थियो।
उक्त खेलका लागि जिल्लास्तर र क्षेत्रीयस्तरबाट छनौट खेलाडी भएको थियो। उनी सुदूरपश्चिम टिमबाट सहभागी थिइन्। पहिलो खेलमा वैकल्पिक खेलाडी थिइन्।
बिन्दु बायाँ हाते ब्याटर थिइन्। दोस्रो दिनको खेलमा भने ओपनर भइन्। त्यस खेलमा उनले १९ रन बनाइन्। त्यो खेल उनको स्मरणमा ताजै छ।
भन्छिन्, ‘मेरो खेल जीवनको कोशे ढुंगा बनेको त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ।’
त्यो खेलले उनलाई राष्ट्रिय खेलाडीका रूपमा स्थापित गर्यो। त्यसपछि यू–१६ र यू–१९ टिमबाट खेल्दै हाल सिनियर टिममा छिन्।
बिन्दुले २०६८ सालमा घरेलु प्रतियोगिता खेलेकी थिइन्। त्यसको सात वर्षपछि सन् २०१९ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइन्।
उनका अनुसार नेपाली पुरुष क्रिकेट टिमको तुलनामा महिला टिमले राम्रो नतिजा दिन सकेको छैन। यसकारण उनी दबाबमा छिन्।
‘हामी व्यक्तिगतरूपमा तयारी गर्दै छौँ। आशा छ, छिटै विश्वकप खेल्न क्वालिफाइड हुनेछौँ,’ उनी भन्छिन्, ‘खेलमा हारजित हुनुमा एउटा पाटोमात्र जिम्मेवार हुँदैन। ब्याटिङ र बलिङ लगायत सबै पक्षमा एक साथ सुधार हुनुपर्छ।’
गत भदौमा आइसिसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाली टिम थाइल्यान्डसँग ४६ रनले पराजित भयो। त्यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भयो।
नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायरका लागि विशेष कोच राखे पनि आफूहरूले राम्रो नतिजा दिन नसकेको बिन्दुको भनाइ छ।
नतिजा किन राम्रो भएन त?
उनले भनिन्, ‘म्याच एक्सोपोजर र घरेलु म्याचको कमी छ। त्यही कारण हामीले आफूलाई सुधार गर्न सकेनौँ।’
प्रतियोगिता खेल्ने केही दिनअघि क्याम्प सुरु हुन्छ। क्याम्पमा खेल अभ्यास हुन्छ तर क्याम्पको तयारीले मात्रै प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्न नसकिने बिन्दुको निष्कर्ष छ।
उनी भन्छिन्, ‘जति बढी घरेलु प्रतिस्पर्धा हुन्छ टिमको खेल त्यति नै बढी राम्रो हुन्छ।’
नेपाली पुरुष टिम विश्वमा परिचित भइरहँदा महिला टिम चिनिएन भन्ने धेरैको धारणा छ।
बिन्दु यस्तो धारणासँग धेरै सहमत छैनन्।
‘हामी (महिला टिम) पनि छौँ भनेर देखाउने चुनौती छ। हाम्रो मुख्य लक्ष्य विश्वकपमा क्वालिफाइड हुनु हो,’ उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा दिन नसके पनि नेपाली महिला टिम क्रिकेटमा चिनिएको छ।’
क्यानले राष्ट्रिय टिमका खेलाडीलाई मासिक तलब लगायत अन्य केही सुविधा दिन्छ। यस्तो सुविधा पाएपछि आफूले खेलबाहेक अन्यत्र ध्यान नदिएको उनले बताइन्।
बिन्दुलाई पुरुष टिमभन्दा पहिले महिला टिम विश्वकपमा क्वालिफाइड हुन्छ भने आशा थियो। त्यसो नहुँदा महिला क्रिकेट टिम दबाबमा छ तर सकारात्मक परिणाममा पुग्न धेरै अभ्यास हुनुपर्छ।
‘जति धेरै प्रतियोगिता खेल्यो त्यति नै सुधार हुने हो। वर्षमा एकदुई पटक मात्रै राष्ट्रिय प्रतियोगिता खेल्न पाइन्छ। मेयर कप, पिएम कपबाहेक अर्को खेल नै छैन,’ उनी भन्छिन्, ‘यस्तो प्रतियोगितामा पनि सिनियर खेलाडी मात्रै हुन्छन्। तल्लो तहदेखि नै प्रतियोगिता हुँदा मात्र राष्ट्रिय टिम बलियो हुन्छ।’
अनेक कमी कमजोरीका बीच पनि एक दिन सफल भएरै छाड्ने बिन्दुको विश्वास छ।
पुरुष टिमहरू घरेलु मैदानमा भरिभराउ दर्शकका सामुन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्छन्। महिला टिमले यस्तो अवसर पाउँदैन।
नेपाली महिला क्रिकेट टिमको इतिहास करिब दुई दशकको छ।
बिन्दु भन्छिन्, ‘महिला टिमलाई धेरै नेपाली दर्शकसामु खेल्ने अवसर नै मिलेको छैन। नेपाली दर्शकको माया र समर्थन पाउन नसकेको जस्तो पनि लाग्छ।’
नेपाली पुरुष टिम १० वर्षपछि ट–२० विश्वकप खेल्दैछ। महिला टिम विश्वकप क्लालिफायरमा छनोट हुन सकेको छैन।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार महिला टिमको प्रदर्शन कमजोर हुँदा क्यानलाई प्राप्त हुने रकम घटेको छ।
उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्यानलाई केही फन्ड (बजेट) सहयोग गर्छ। खेल हेरेर दिन्छ। खेलअनुसार फन्ड घट्ने र बढ्ने हुन्छ।’
केहीअघिसम्म आइसिसी बरियतामा पन्ध्रौँ स्थानमा रहेको नेपाली राष्ट्रिय महिला टिम स्तर खस्केर हाल एक्काइसौँ स्थानमा पुगेको छ।
महिला क्रिकेटको विकासका लागि क्यानले मात्र नभई तीन वटै तहका सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष चन्दको भनाइ छ। उनका अनुसार क्यानका तर्फबाट सबै सहयोग भइरहेको छ।
भिडिओ