क्रिकेट खेलाडी अनुज चनाराको मनस्थिति भूकम्पले हल्लाएको हल्यै छ। एक महिना हुन लाग्दा पनि उनी सामान्य हुन सकेका छैनन्।
जाजरकोटको नलगाड नगरपालिका–५, चारगाउँका अनुज दसैं मनाउन घर गएको बेला भूकम्प आयो। कात्तिक १७ गते करिब मध्यरातमा आएको भूकम्पले जमिनमात्र हल्लाएन, १७ वर्षीय अनुजको मनस्थिति पनि हल्लाइदियो। अहिले पनि त्यही भूकम्पले उनलाई झस्काइरहन्छ।
‘मेरो त सातो गएजस्तो छ, घरीघरी झस्कन्छु,’ उनी भन्छन्, ‘राति सुतेका बेला खाट हल्लिएजस्तो लाग्छ, घरै घुमेजस्तो हुन्छ।'
भूकम्प आएको रात उनी भतिज (दाइको छोरा) का साथ घरको माथिल्लो तलामा सुतेका थिए। घर हल्लिन थालेपछि उनी ब्युँझिए। हत्तपत्त गर्दै भतिजलाई उठाएर बाहिर निस्के। गाउँमा खैलाबैला मच्चिएको थियो।
‘भूकम्पले हल्लाएपछि हामी बाहिर निस्क्यौँ। घरका खाँबा फाटेका थिए,’ उनले भने, ‘दाइको कोठाबाट कम्बल निकाल्न जाँदा एक्कासि घर ढल्यो। निस्किन सकिहालियो, एकैछिन ढिलो भएको भए म रहने थिइनँ।’
भूकम्पपछि अनुजसहित गाउँका युवाहरू उद्धारमा जुटे। पुरिएका घरबाट घाइतेहरूलाई निकाले। तत्काल हुन सक्ने उपचार प्रबन्ध गरे।
भूकम्पपछि अनुजका दाजुभाउजू त्रिपाल टाँगेर बसेका छन्। उनले दाउरा राख्न बनाएको छाप्रोमा रात कटाए। बाहिरबाट हेर्दा जाजरकोटमा प्रशस्त राहत पुगेको जस्तो देखिए पनि चारगाउँमा सरकारी स्तरबाट राहत नगएको उनको भनाइ छ।
‘समाचार सुन्दा जाजरकोटमा धेरै राहत गएको जस्तो देखिन्छ तर सरकारबाट अहिलेसम्म केही आएको छैन,’ उनी भन्छन्, ‘विदेश गएका गाउँकै दाजुहरूले पठाएको पैसाबाट त्रिपाल र चामल बाँडिएको छ।’
भूकम्पले बिथोलिएको मन लिएर उनले केही रात छाप्रोमै कटाए।
यतिकैमा अनुज ‘केपी ओली कप’ क्रिकेट प्रतियोगिता खेल्न मंसिर २ गते जाजरकोटबाट हिँडे। सुर्खेतमा तीन दिन अभ्यास खेल खेले। त्यसपछि ‘कर्णाली प्रदेश क्रिकेट टिम’ बाट पोखरा पुगे।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर ७ गतेदेखि पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता चलिरहेको छ। कर्णाली प्रदेश टिम बागमती प्रदेशसँग पराजित भयो। त्यसपछि अनुज नियमित अभ्यासका लागि नवलपुर पुगेका छन्।
क्रिकेट अभ्यास बाहेकको फुर्सदिलो समयमा बेला बेला उनी झस्किरहन्छन्। सपना पनि राम्रा देख्दैनन्। भारतमा रहेका आमाबुवाको याद आउँछ।
अनुजका आमाबुबा भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लामा स्याउबारीमा काम गर्छन्। उनका बुवा अजवीर स्याउबारीको रेखदेख गर्ने र स्याउ टिप्ने काम गर्छन्। आमाबुवाले चार कक्षामा पढ्दै गरेका अनुजलाई भारत लगेका थिए। उनका भाइबहिनी हाल सिम्लामै स्कुल पढ्दैछन्।
उनी पनि चार वर्षअघि सिमलामै पढ्थे। त्यहीँ हो अनुजले क्रिकेट खेल्न सिकेको। उनी स्थानीय एउटा टिमको छनोटमा परे। त्यही टिमबाट स्थानीय स्तरमा क्रिकेट खेल्न थाले। उनी राम्रो खेलाडी भएर अघि बढे।
अनुजले क्रिकेट खेलेको उनका आमाबुवालाई राम्रो लागेन। खेलमा लागेर छोराले पढाइ बिगार्यो भन्ने उनीहरूको चिन्ता थियो।
'खेलेर उन्नति हुँदैन, पढाइमा ध्यान दिनुपर्छ' भन्थे।
आमाबुवाले रोक्दा रोक्दै पनि उनलाई क्रिकेटले नतानी छोडेन। उनको तनमन नै क्रिकेटले खिच्यो। खेलका लागि आमाबुवाको सहयोग नपाउने ठानेर ८ कक्षामा पढ्दापढ्दै एक दिन अचानक सिम्लाबाट हिँडे। उनी नेपाल आए। खासमा उनी भागेर आएका थिए।
नेपाल प्रवेश गर्ने सिमानाका रुपैडिया आइपुगेपछि उनीसँग भएको पैसा सकियो। उनले आमा मनसरीलाई फोन गरेर आफू नेपाल पुग्न लागेको र पैसा सकिएको बताए।
‘रुपैडियाबाट नेपाल आए पनि वा सिम्ला फर्किए पनि बाटो खर्च पुग्ने पैसा मसँग थिएन। आमालाई फोन गरेर पैसा सकियो भनेँ,’ उनले भने, ‘आमाले यता (सिम्ला) आए पनि आइजा, उता (नेपाल) गए पनि जा भनेर १० हजार रुपैयाँ पठाइदिनुभयो। त्यही पैसा लिएर चितवन आएँ।’
उनी क्रिकेट खेल्ने हुटहुटीले नै नेपाल आएका थिए।
नेपाल आएर क्रिकेटमा लागे पनि उनले पढाइ छाडेका छैनन्। अहिले भारतमै १२ कक्षामा पढ्दैछन्। परीक्षा दिन उतै जान्छन्। त्यसबाहेक अघिपछि उनको समय क्रिकेट खेलेरै बित्छ।
चितवनमा उनका एक जना आफन्त नरेन्द्र विक सरकारी जागिरे थिए। नरेन्द्रले नै नेपालमा क्रिकेटको सम्भावनाबारे अनुजलाई बताएका थिए। नरेन्द्रले उनलाई ‘चितवन क्रिकेट एकेडेमी’ मा भर्ना गरिदिए।
चितवन क्रिकेट एकेडेमीमा तीन वर्ष अभ्यास गरेपछि अनुज नवलपुरको ‘रोयल क्रिकेट एकेडेमी’ मा पुगे । हाल उनी नवलपुरमै अभ्यासरत छन्। पोखरामा केपी ओली कप खेलेर नवलपुर फर्केका हुन्।
भारतबाट नेपाल आएर अभ्यास थालेको तीन महिनामै उनी ‘कर्णाली प्रदेश टिम’ मा छनोट भए। उनले कर्णाली प्रदेश टिमबाट पहिलो पटक ‘मनमोहन मेमोरियल कप’ क्रिकेट खेले। त्यसपछि २०७७ मा प्रधानमन्त्री कप खेले।
तीव्र गतिका बलर अनुजले प्रधानमन्त्री कपको चार खेलमा आठ विकेट लिएका थिए। उनले एपिएफ क्लबविरूद्ध भएको खेलमा रित गौतम, शरद भेषवाकर र भुवन कार्कीलाई आउट गरेका थिए। प्रदेश १ र गण्डकी प्रदेशविरूद्ध २–२ विकेट लिएका थिए। नेपाल आर्मीविरूद्ध १ विकेट लिएका थिए।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले राष्ट्रिय टिम छनोटका लागि लिएका प्रारम्भिक ३२ जना खेलाडीमा अनुज पनि परेका थिए। छनोट खेलमा राम्रै प्रदर्शन गरे पनि उनी टिममा परेनन्। चाँडै राष्ट्रिय टिममा पुग्ने उनको लक्ष्य छ।
उनी भन्छन्,‘राष्ट्रिय टिममा छनोट हुन्छु भन्ने विश्वास छ। त्यसको तयारी गरिराखेको छु। नेपाली क्रिकेटमै जीवन बिताउने अठोट छ।’
कर्णाली प्रदेश क्रिकेट टिमका प्रशिक्षक वीरेन्द्र शाहीका अनुसार अनुज राष्ट्रिय टिममा पुग्न सक्ने प्रतिभाशाली खेलाडी हुन्।
‘भूकम्पले घर ढलेर चिन्तामा परेको अवस्थामा पनि अनुजले पोखरामा राम्रो प्रदर्शन गरे। कर्णालीबाट क्रिकेटमा अनुजले आफ्नो प्रतिभा देखाएका छन्,’ वीरेन्द्र भन्छन्,‘अब हुने छनोट खेलबाट राष्ट्रिय टिममा पुग्छन् भन्ने विश्वास छ। राम्रो तालिम पाए भने उनले आफ्नो धार निकाल्न सक्छन्।’
अनुज क्रिकेटमै आफ्नो व्यक्तित्व विकास गर्न र भविष्य उज्यालो बनाउन संघर्षशील छन्। पर्याप्त अभ्यासका लागि उनीसँग आर्थिक संकट छ। आमाबुवाले पनि सहयोग गर्न सक्ने अवस्था छैन।
‘डाइट (पोषक खाना), जिम र प्रशिक्षणका लागि पैसा पुग्दैन। कहिलेकाहीँ साथीहरूसँग सापटी माग्छु,’ उनी भन्छन्, ‘दक्षिण कोरियामा एक जना दाइ हुनुहुन्छ। उहाँले सहयोग गर्नुभएको छ तर यसरी त सधैं चल्दैन।’
अनुजको घरमा पैसा कमाउन विदेश जानुपर्छ भन्ने कुरा पनि हुन्छ। उनीमाथि विदेश जान दबाब पनि छ तर उनी निर्वाध रूपमा क्रिकेटमा खेलमै अघि बढ्न चाहन्छन्।
भन्छन्, ‘परिवारबाट विदेश जान दबाब आउँछ। म क्रिकेट छोड्न चाहन्नँ। सधैं अभ्यास गर्न पाए राम्रो खेल्न सक्छु।’
भूकम्पले घर ढलेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले उनलाई केही आर्थिक सहयोग गरेको छ। घर बनाउन सहयोग गर्ने वचन पनि पाएका छन्। खासमा उनले क्रिकेटमा सहयोगीहरूको बलियो साथ खोजेका छन्।