आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरूवात गरेको छ।
नेपालले बुधबार आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको हो।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो।
कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले सबैभन्दा बढी २६ रन बनाए भने यसिन पटेलले १९ रन जोड्न सके। मीत भाश्वरले ११ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालका ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २-२ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो।
त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १४१ रन बनायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा आउट भएका भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए।
त्यसअघि अर्का ओपनर आसिफ शेख भने ७ बल खेलेर २ रन खेल्दा अकिफ फारुकको एलबिडब्लूको धरापमा परे। त्यसपछि कुशल मल्ल ४ रन र कप्तान रोहित पौडेल १६ रन जोडेर आउट भए। दुवैलाई नवीनराज राजेन्द्रनले बोल्ड गरेका थिए।
सन्दीप जोरा ५ रनमा आउट भएपछि नेपालले १२ ओभर चल्दै गर्दा ४ विकेट गुमाउँदा ६३ रन मात्र जोडेको थियो। दीपेन्द्रसिंह ऐरी १९ बलमा २० रन बनाएर खेलिरहदा रनआउट भए।
सुस्त ब्याटिङ गरेको नेपालले १९औं ओभरमा नवीनराजविरूद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो। उनीविरूद्ध कुशल भुर्तेलले दुई चौका र गुल्सन झाले तीन छक्का प्रहार गरेपछि नेपालले यो ओभरमा २७ रन जोडेको थियो।
गुल्सन झा अन्तिम ओभरको दोस्रो बलमा आउट भए। गुल्सनले ६ बलमा ३ छक्काको मद्दतमा २० रन बनाए।
बलिङमा कुवेतका नवीनराजले २ विकेट लिन सफल भए। उनले चार ओभरमा ४० रन दिए। पहिलो तीन ओभरमा १३ रन खर्चिएका उनले आफ्नो स्पेलको अन्तिम ओभरमा २७ रन दिन बाध्य भएका थिए। अन्तिम ओभरमा कुवेतका अनुदिप चेन्थामाराले दुई विकेट लिए।
यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
नेपाल समूह २ मा छ। नेपालको समूहमा कुवेत र जापान छन्। समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ।
यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर-६ मा पुग्नेछ। सुपर-६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।
एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।
यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।
१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।
समूह १ – युएई, मलेसिया, कतार
समूह २ – नेपाल, कुवेत, जापान
समूह ३ - ओमान, पिएनजी, सामोआ