आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आफ्नो पहिलो खेलमा कुवेतविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
ओमान क्रिकेट एकेडेमीमा टस जितेको कुवेत फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख, रोहिकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोपमाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी।
टिममा करण केसीसहित आरिफ शेख, लोकेश बम र आदिल अन्सारी बेञ्चमा छन्। टोलीमा कुलश मल्ल, दीपेन्द्र र गुल्सनले अलराउन्डरको भूमिका निर्वाह गर्दा सोमपाल र नन्दन तीव्र गतिका बलरको रुपमा छन्। यस्तै सन्दीप र ललित स्पिनर रहेका छन्। ब्याटिङमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल र सन्दीप जोरा ब्याटरको रुपमा छन्।
यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
नेपाल समूह २ मा छ। नेपालको समूहमा कुवेत र जापान छन्। समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ।
यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर-६ मा पुग्नेछ। सुपर-६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।
एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।
यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।
१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।
समूह १ – युएई, मलेसिया, कतार
समूह २ – नेपाल, कुवेत, जापान
समूह ३ - ओमान, पिएनजी, सामोआ
नेपालका खेल
नेपाल भर्सेस कुवेत : असोज २२, बुधबार, राति ८:४५ बजे
नेपाल भर्सेस जापान : असोज २४, शुक्रबार, दिउँस ४:१४ बजे