आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आजदेखि ओमानमा सुरू भएको छ।
आज भएको समूह-३ को पहिलो खेलमा घरेलु टोली ओमानले सामोआविरूद्ध ५ विकेटको जित निकालेको छ।
ओमान क्रिकेट एकेडेमीमा सामोआले दिएको ९३ रनको लक्ष्य घरेलु टोलीले ५ विकेटको क्षतिमा १७ ओभरमा पूरा गर्यो।
ओमानका लागि हमद मिर्जाले १८ रन, आर्यन विष्ट १० रन र आसिस ओडेडराले १३ रन बनाए। यस्तै मोहमद नदीमले नटआउट २१ रन बनाए।
त्यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सामोआले ९ विकेटको क्षतिमा ९२ रन मात्र बनायो।
उसका लागि रस टेलर र सुलुओटोले २२-२२ रन जोडे। बलिङमा ओमानका शाह फैसल, शकील अहमेद र आमिर कलीमले २-२ विकेट लिए।
रस टेलर न्युजिल्यान्डक पूर्व कप्तान हुन्। ४१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका टेलरले आफ्नी आमाको देशबाट खेल्न पाउने नियमअनुसार सामोआबाट खेलेका हुन्। यद्यपी उनले पहिलो खेलमा औषत मात्र प्रदर्शन सफल भए।
छनोटमा आज नेपालले पनि आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले राति ८:४५ बजे कुवेतसँग खेल्नेछ।
यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
नेपाल समूह २ मा छ। नेपालको समूहमा कुवेत र जापान छन्। समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ।
यो समूहको शीर्ष दुईमा परे नेपाल सुपर-६ मा पुग्नेछ। सुपर-६ मा पुगेपछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।
एसिया छनोटको अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्। तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीले एकअर्काविरूद्ध खेल्नेछन्।
यद्यपी आफ्नो समूहबाट आएको टोलीसँग भने सुपर-६ मा प्रतिस्पर्धा हुनेछैन। त्यसैले समूह चरणको जित पनि सुपर-६ मा महत्वपूर्ण हुनेछ। किनकी सुपर-६ मा पुग्ने आफ्नो समूहको टोलीविरूद्धको अंक पनि सुपर-६ मा गनिनेछ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।
भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।
१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।
समूह १ – युएई, मलेसिया, कतार
समूह २ – नेपाल, कुवेत, जापान
समूह ३ - ओमान, पिएनजी, सामोआ
नेपालका खेल
नेपाल भर्सेस कुवेत : असोज २२, बुधबार, राति ८:४५ बजे
नेपाल भर्सेस जापान : असोज २४, शुक्रबार, दिउँस ४:१४ बजे