संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटको निर्णायक तथा अन्तिम खेलमा नेपाललाई युएईले ८४ रनको लक्ष्य दिएको छ।
अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ। नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ।
बुधबारको खेलमा युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन्। उनले ४८ बलमा १ चौका प्रहार गरिन्।
बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन्। उनले १८औं ओभरमा तीन विकेट लिँदा नेपालले खेल नियन्त्रणमा लिएको थियो। कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन्। यस्तै नेपालका लागि रिया शर्मा र सीमा केसीले दुई दुई विकेट लिए।
कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौं अर्थात् अन्तिम खेल हो। एसिया छनोटअन्तर्गत नेपालले पाँच खेल खेलिसकेको छ। पाँचमध्ये चार खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको थियो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।
तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो। आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई एक सय छ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ। युएई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यस्तै, नेपाल आठ अंकसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड दुई अंकसहित तेस्रो र कुवेत शून्य अंकसहित तालिकाको अन्तिममा छ।