रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ।
बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौंबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिए।
खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्। काठमाडौंको नौ अंक भएको छ। काठमाडौं लिगको पहिलो स्थानमा छ। महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ।
शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो। दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौं र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन्।
अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ। विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ। मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो । रासस