दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अस्ट्रेलियाका ब्याटर क्रिन लिन आउने चर्चा चलेको छ।
सुदूरपश्चिम रोयल्सले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लिनसँग मिल्दो तथ्यांक राखेर उनी आउन लागेको संकेत दिएको हो।
सुदूरपश्चिमको पोस्टमा एक ब्याटर अस्ट्रेलियाको जर्सीमा देखिएका छन् भने अगाडि सो खेलाडीको तथ्यांक राखिएको छ।
जसमा ३९५५ रन र २२० छक्का प्रष्टसँग देखिन्छ। लिनले अस्ट्रेलियाको बिग ब्यास लिगमा २ टोलीबाट १२७ खेल खेल्दा उल्लेखित रन र छक्का प्रहार गरेका छन्।
एडिलेट स्ट्राइकर्स र ब्रिसेबेन हिटका लागि खेल्दा सो रन प्रहार गरेका हुन्।
उनले आइपिएल टोली कोलकता, मुम्बई र हैदरावादका लागि खेल्दै ४२ खेल खेल्दा १३२९ रन प्रहार गरेका छन्।
अस्ट्रेलियाको राष्ट्रिय टोलीमा भने उनले २०१८ देखि खेलेका छैनन्। उनले अस्ट्रेलियाका लागि चार एकदिवसीय र १८ टी-२० खेलेका छन्।
यो सिजनको एनपिएल मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। त्यसका लागि सबै आठ टोलीले नेपाली खेलाडी अक्सनमार्फत भित्र्याइसकेका छन् भने विदेशी खेलाडी भित्र्याउने प्रक्रिया जारी छ।