धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ।
यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने उक्त प्रतियोगिताका लागि महेन्द्रनगरले दिल्लीका पुनित विष्ट र पुनित मेहरालाई अनुबन्ध गरेको हो।
विष्टले दिल्ली डेयरडेभिल्सको टोलीबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलिसकेका छन्। उनी दायाँ हाते ब्याट्सम्यान विकेटकिपर हुन्। उनले भारतमा दिल्लीबाट रणजी ट्रफीसमेत खेलिसकेका छन्।
मेहरा अलराउण्डर हुन्। उनी बायाँ हाते स्पिन बलर र बायाँ हाते ब्याट्सम्यान हुन्। उनले पनि भारतको दिल्लीबाट रणजी ट्रफी खेलिसकेका छन्।
महेन्द्रनगर युनाइटेडको कप्तानमा विनोद भण्डारी छन् भने प्रशिक्षकमा विनोद दास छन्। टोलीका अन्य खेलाडीमा करण केसी, अविनाश कर्ण, भुवन कार्की, रोहितकुमार पौडेल, आरिफ शेख, आशिफ शेख, नारायण जोशी, अरुण ऐरी, दीपेन्द्र चन्द, प्रणित थापामगर, हरिशंकर साह र रवीन क्षेत्री रहेका टिम व्यवस्थापक नीरज चन्दले जानकारी दिए। टोलीले आइतबारदेखि नै अभ्यास थालिसकेको छ।रासस