त्रिभुवन विश्वविद्याल व्यवसाय इन्क्युवेसन केन्द्रले एकदिने अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
अनुसन्धानमा आधारित नवप्रवर्तन, उद्यमशीलता तथा उद्योगसँगको सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त केन्द्रले कीर्तिपुरमा एक कार्यक्रम आयोजना गरी अन्तर्क्रिया गरेको हो।
उक्त कार्यक्रममा विभिन्न केन्द्रीय विभाग तथा अध्ययन संस्थानहरूसँग आबद्ध इन्क्युवेसन केन्द्रका १५ जना संयोजक तथा फोकल पर्सन सहभागी भएका थिए।
केन्द्रका निर्देशक प्रा.डा ताराप्रसाद भुसालले केन्द्रको उद्देश्य, सञ्चालनमा रहेका कार्यक्रमहरू तथा भावी नीतिगत र कार्यक्रमगत योजनाबारे जानकारी दिएका थिए।
उनले त्रिविका उपकुलपति प्रा.डा खड्ग केसीको नेतृत्वमा केन्द्रले आइडिएसन (विचार विकास), इन्क्युबेसन (उद्यम विकास), प्रोटोटाइप निर्माण, बौद्धिक सम्पत्ति अधिकार (आइपिआर), स्केल अप तथा उद्योगसँगको सहकार्य जस्ता पक्षहरूमा केन्द्रित भएर समग्र इन्क्युबेसन प्रणालीको विकास गरिरहेको बताए।
कार्यक्रममा पूर्व शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको उपस्थिति रहँदा उनले विश्वविद्यालयले नवप्रवर्तन र अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न केन्द्र जस्तो संस्थाको आवश्यकता अपरिहार्य रहेको बताए।
अन्य सहभागीहरूले आफ्ना केन्द्रहरूको वर्तमान अवस्था, गतिविधिहरू, उपलब्धि, चुनौतीहरू र आगामी कार्ययोजनाहरू प्रस्तुत गर्दै अनुभव आदान–प्रदान गरेका थिए।
सहभागीहरूले केन्द्रलाई त्रिवि अन्तर्गतका सम्पूर्ण इन्क्युबेसन केन्द्रहरूको साझा समन्वयकारी संस्थाको रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा एकमत जनाएका थिए।
कार्यक्रममा सहभागीहरूले त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग (युजिसी), तथा तीनै तहका सरकारहरूबीच सहकार्य र समन्वय गरेर आइडिएसनदेखि स्टार्टअपसम्मको यात्रा सहज बनाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।