काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँग २५ हजार रुपैयाँ धरौटी माग भएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
उनले धरौटी बुझाएर छुटिसकेको विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेले जानकारी दिए।
उनीसँगै एउटै मुद्दामा हाजिर भएका बसन्त आचार्य र नमराज ढकालसँग अदालतले ५०/५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ २८ गते प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
परियार सूचना तथा प्रसारण विभागमा महानिर्देशकको रूपमा कार्यरत थिए। तर मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका हुन्।
बसुन्धरादेखि म्हेँपीसम्म (सामाखुसी करिडोर) को ढल निर्माण कार्यको ठेक्कामा बोल कबोलभन्दा बढी मूल्यलाई ठेक्का दिएको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार अभियोग लागेको थियो।
उक्त ढल निर्माणमा समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष-कोहिनुर जेभीले ठेक्का हालेका थिए। त्यसमध्ये समानान्तरले कम मूल्यमा बोलकबोल हालेको थियो भने कल्पवृक्ष-कोहिनुरले बढीमा ठेक्का हालेको थियो।
बोलकबोलमा बढी मूल्यमा ठेक्का हाल्ने कल्पवृक्ष-कोहिनुर जेभीलाई निर्माणको जिम्मा दिएको भन्दै उजुरी परेको थियो।
उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबी भएको छ।