रसुवाको भोटेकोशीमा तिब्बतको हिमताल फुटेर बाढी आएको हुन सक्ने प्रारम्भिक निष्कर्ष राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निकालेको छ।
बुधबार अपराह्न प्राधिकरणले पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिएको हो। भोटेकोशी बाढीको यकिन कारण तथा विस्तृत जानकारी भने थप अध्ययन तथा अनुसन्धानबाट मात्रै थाहा हुने प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले बताए।
भोटेकोशीको बाढी वर्षाका कारण भने नआएको उनले बताए। पछिल्ला केही दिनमा त्यहाँ वर्षा मापन नै नभएको उनले स्याटलाइट तस्बिरमा देखाएका थिए।
नेपालतर्फको भोटेकोशीमा दुइटा खोलाको पानी मिसिन्छ। दायाँबाट केरूङ खोला र बायाँबाट चीनतर्फ रहेको ल्हेन्दे खोला मिसिन्छ। मंगलबार बिहान अन्दाजी ३ बजेतिर ल्हेन्देबाट बाढी आएको हो।
रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा रहेका स्टेसनमा ह्वात्तै जलसतह बढेको देखिन्थ्यो।
'वर्षाबाट आउने बाढीमा जलसतह बिस्तारै बढ्दै जान्छ। दुइटा स्टेसनमा हिजोको मापनले यो अचानक आएको बाढी हो भन्ने नै देखिन्छ,' भट्टले भने, 'नेपाल र चीनको माथिल्लो भेगमा ४, ५, ६, ७ जुलाइमा पानी परेको देखिँदैन।'

टिमुरे स्टेसनमा अन्दाजी सवा ३ बजेतिर जलसतह एक्कासि ३.५ मिटर बढेको थियो। त्यस्तै स्याफ्रुबेँसी स्टेसनमा साढे ३ बजेतिर एकैपटक १.७५ मिटरले सतह बढेको देखिएको हो।
यसरी अचानक आएको बाढीले सुरूमै मितेरी पुल अर्थात्, नेपाल चीनसँग जोडिने प्रमुख बाटो नै बगाइदियो। त्यो ठाउँमा नयाँ पुल बनाउन चीन सरकारलाई नै सहयोग माग गर्ने निर्णय राष्ट्रिय सुरक्षा परिषदले गरेको छ।
त्यसपछि क्रमशः बाढीले अन्यत्र क्षति पुर्याएको थियो।
प्राधिकरणले बाढी आइसकेपछि त्यस क्षेत्रमा रहेका हिमतालहरूको गुगल इमेज हेरेको थियो। इमेजमा पनि फुटेका हुन सक्ने केही सम्भावित तालहरू देखिएको भट्टले बताए।
प्राधिकरणले सन् २०१८ र सन् २०२५ को गुगल इमेज तुलना गरी सम्भावित तालबारे केलाएको हो।

'यो क्षेत्रमा केही हिमताल छन्। सम्भावित ताल (माथि तस्बिरमा तारा अंकित गरी देखाइएको ठाउँ) बाट बाढी आएको देखिन्छ,' प्रमुख भट्टले कार्यपत्र प्रस्तुति दिँदै भने, 'अरू पनि छन्। त्यहीँबाट आएको भन्ने हाम्रो प्रारम्भिक अनुमान छ।'
प्राधिकरणले बाढी कहाँबाट आएको हो भन्नेबारे विश्लेषण गर्न स्याटलाइट तस्बिर मगाएको हो।
उक्त तस्बिरबाट पुरिपु हिमनदीबाट बगेको पानीबाट भोटेकोशीमा बाढी आएको विश्लेषण प्राधिकरणको छ। हिमताल वा हिमनदीको माथिल्लो सतहको पानी बग्ने प्रक्रियालाई वैज्ञानिक भाषामा 'सुप्राग्लेसियल' भनिन्छ।

यो बायाँ तस्बिर फेब्रुअरी १३, बीचको जुलाइ ६ र दायाँ जुलाइ ८ अर्थात् मंगलबार बाढी आएपछिको तस्बिर हो।
कार्यकारी निर्देशक भट्टका अनुसार फेब्रुअरी १३ मा त्यो क्षेत्रमा खासै पानी जम्मा भएको देखिँदैन। पहिलो तस्बिरमा सानो धर्काजस्तो देखिएको छ। त्यो बढेर दोस्रो तस्बिरमा ताल बढेको देखिन्छ। त्यसपछि घटना भइसकेको तस्बिरमा अगाडिको भन्दा पानी घटेको देखिन्छ।
हिमनदीमाथि सन् २०२५ को मार्चदेखि मे मध्यसम्म ताल बन्न थालेका थिए। जुन ६ सम्म त्यसको क्षेत्रफल तीव्र गतिमा बढ्यो। र, २८ जुनमा त्यसको क्षेत्रफल ५ लाख २५ हजार वर्गमिटर पुगेको उनले बताए।
त्यसपछि पनि उक्त तालको क्षेत्रफल बढ्न रोकिएन।
जुन २८ पछि पनि निरन्तर बढ्दो क्रममा रहेका तालहरू जुलाइ ७ अर्थात्, सोमबारसम्म ६ लाख ३८ हजार वर्गमिटर क्षेत्रफलको एउटै ठूलो तालमा परिणत भयो।
'त्यसको भोलिपल्ट मंगलबार क्षेत्रफल ह्वात्तै घटेर ४ लाख ३५ हजार वर्गमिटर देखियो। तालको क्षेत्रफल घटेको देखिए पनि त्यहाँबाट पानी निरन्तर बगिरहेको देखियो,' भट्टले भने।
यसरी देखिएको स्याटलाइट तस्बिरले पनि भोटेकोशीमा आएको बाढी सुप्राग्लेसियलकै कारण हुन सक्ने प्राधिकरणको प्रारम्भिक अध्ययनमा देखिएको हो।
'यसको विस्तृत अध्ययन गर्न बाँकी छ,' उनले भने।
मितेरी पुल र बाढी आएको हिमतालको दुरी ३५ किलोमिटर मात्रै रहेको पनि उनले बताए।
प्राधिकरणका अनुसार अहिलेसम्म बाढीमा परी ज्यान गुमाउने ९ जनाको शव फेला परेको छ। बीस जनालाई बाढीले मितेरी पुलबाट करिब डेढ किलोमिटर तल रहेको भन्सार यार्डबाट बगाएको थियो। जसमध्ये एक जनाको मात्रै सनाखत भएको छ। अन्यको सनाखत तथा खोजी तथा उद्धारको काम भइरहेको छ।
भेटिएका शव र शवका अंश रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म फेला परेको छ।
बाढीले प्रहरी तीन जना, चिनियाँ नागरिक ६ जना र बाँकी नेपाली नागरिकलाई बगाएको थियो। प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनस्थित त्रिशूली नदीमा फेला परेको थियो। अन्य दुई जना जवान पनि बेपत्ता भएका थिए।
'भन्सार यार्डमा सुतिरहेकाहरूलाई नै बेपत्ता बनाएको छ। प्रहरी तीन जना उनीहरूलाई उठाएर उद्धार गर्न भनेर जाँदा बगाएको हो,' भट्टले भने।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ३८३ जनाको टोलीले ५७ जनाको उद्धार गरेको छ। त्यसमध्ये ३१ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको हो।
भन्सार यार्डबाट २४ कन्टेनर, जाँच पासका लागि राखिएका ३५ वटा गाडी र ६ वटा ट्रकलाई बगाएको छ।
बाढीले १६ किलोमिटर, ३ वटा हाइड्रोमा समेत क्षति पुर्याएको छ।
क्षतिको यकिन विवरण भने सम्बन्धित मन्त्रालयले निकाल्ने पनि प्राधिकरणले जनाएको छ।