सप्तरीको सुरुङ्गा नगरपालिकामा डाका समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार गए रातिको यो घटनामा एक जनाले ज्यान गुमाएका छन्। धारिलो हतियार र गोली प्रहार गरेर स्थानीयको हत्या भएको हो।
डाका समूहले सुरूङा नगरपालिका -८ का कन्तलाल चौधरीको हत्या गरेको हो।
'लगभग ६० वर्ष हाराहारीका चौधरीको हत्या भएको छ,' सुरुङ्गा-८ का वडाध्यक्ष श्यामप्रसाद साहले भने, 'उहाँकै कान्छा भाइ रमाकान्त चौधरी घाइते छन्।'
उनका अनुसार घटना राति साढे १२ बजेतिरको हो।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार राति आएको अज्ञात समूहले लुटपाट पनि गरेको छ।
प्रजिअ दालले राति घरभित्र प्रवेश गरी उक्त समूहले गरगहना लुट्न थालेपछि प्रतिकार गर्दा एक जनाको ज्यान गएको र एक जना घाइते भएको बताएका छन्।
समूहमा पाँचदेखि सात जना रहेको अनुमान स्थानीयवासीले गरेको वडाध्यक्ष साहले बताए।