सप्तकोशीमा बेपता भएका दुई जना गोताखोर खोज्न कुरिनटारबाट डिएसपीको कमान्डमा टोली खटिएको छ।
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरूषोत्तम भण्डारीको कमान्डमा पाँच जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार टोलीलाई बिहीबार राति १०:४५ बजे कुरिनटारबाट कोशी ब्यारेजतर्फ पठाइएको छ।
बिहीबार दिउँसो सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी सप्तकोशी नदीको कोशी ब्यारेजमा खोज तथा उद्धार अभ्यास क्रममा बेपता भएका थिए। उनीहरूले २०८० र २०८१ सालमा गोताखोर तालिम पूरा गरेको डिएसपी थापाले बताए। त्यसपछि विभिन्न उद्धारका लागि विभिन्न ठाउँमा खटिसकेका थिए।
गोताखोर नै बेपत्ता भएपछि सशस्त प्रहरी बलले अनुभवी प्रशिक्षक पठाएको हो।
अहिले खटिएका डिएसपी भण्डारीले २०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका थिए। उनी त्यसयता नेपालमा सञ्चालित गोताखोर तालिमका प्रशिक्षक हुन्। उनले घटनास्थल, पानीको बहाव र अन्य कुरा फिल्डमा नहेरी भन्न नसकिने बताएका छन्।