बाँके प्रहरीले बैंकिङ कसुर मुद्दामा ६० लाख रूपैयाँभन्दा बढी जरिवाना तोकिएका एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
बिहीबार नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका ४८ वर्षीय गोविन्द प्रसाद पहाडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए।
बैंकिङ कसुर र चेक अनादर मुद्दामा पहाडीलाई जिल्ला अदालत बाँकेले ६० लाख एक हजार एक सय रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
अदालतले पहिलो पटक २०७९ भदौ २८ गते, दोस्रो पटक २०८१ असार २० गते र तेस्रो पटक २०८१ माघ २८ गते पहाडीलाई उक्त फैसला सुनाएको थियो।
पहाडी पहिलो पटक अदालतले जरिवानाको फैसला सुनाएदेखि नै फरार थिए। उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने प्रहरीले स्पष्ट खुलाएको छैन।