वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन्।
उनले आफ्नो फोटो खिचिरहेका पत्रकारको क्यामेरामा हातपात गरेका छन्।
काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा थापाले पत्रकार उमेश कार्कीको क्यामेरामा हातपात गरेका हुन्। यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपाल काठमाडौं फर्केपछि पार्टी नेताहरूसँग छलफलमा जुटेका थिए।
छलफलकै लागि नेपालले वरिष्ठ अधिवक्ता थापा र गोविन्द बन्दीलाई पार्टी कार्यालयमै डाकेका थिए। नेपालसँग छलफल सकेर पार्टी कार्यालयको गेटबाट बाहिरिँदै गरेका थापालाई पत्रकारहरूले क्यामेरामा कैद गरिरहेका थिए।
त्यहीबेला अनुमति नलिई फोटो लिएको भन्दै थापाले पत्रकार कार्कीको क्यामेरा थापाले हातले हटाउन खोजेका थिए।
थापाले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले प्रतिवाद गरेपछि केहीबेर विवादसमेत भएको थियो।
पत्रकारहरूले ‘तपाईंको घरमा आएर हामीले फोटो खिचेका छौं?’ भन्दै उनको प्रतिवाद गरेका थिए।
त्यसपछि एकीकृत समाजवादीका नेता सुदेश पराजुलीले थापालाई गाडीतिर पुर्याएका थिए।
उक्त घटनाप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राख्दै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले विज्ञप्ति जारी गरेको छ।
‘वरिष्ठ वकिलसमेत रहेका पूर्वसभासद थापाले फोटो खिच्न पाउने अवस्थामा आफ्नो कर्तव्य निभाइरहेका फोटो पत्रकारमाथि हात हाल्ने काम गरेका छन्। कानुनकै पेसामा रहेका व्यक्तिबाट अभद्र व्यवहार गैरकानुनी, अक्षम्य र निन्दनीय’ भएको भन्दै विज्ञप्ति जारी गरेको हो।