अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध मुद्दा दर्ता गरेको छ।
खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएर आयोगले उनीविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले ६ लाख ७० हजार रूपैयाँ घुस लिएको देखेपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार अनुसन्धानको क्रममा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौं र छैटौं रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रियासम्बन्धी काम अघि बढाइदिए बापत सेवाग्राहीसँग दुई पटक घुस लिएको देखिन्छ।
२०८१ चैत ८ गते पाँचौं रनिङ बिल भुक्तानीका लागि १ लाख र पुन: छैटौं रनिङ बिल भुक्तानीका लागि ५ लाख ७० हजार रूपैयाँ घुस/रिसवत लिएको देखिएको आयोगका प्रवक्ता पौडेलले बताए।
उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो छ लाख सत्तरी हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दर्ता गराइएको छ।