सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री एवं एकीकृत समाजवादीका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सोमबार विशेष अदालतमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको हो।
उनले आर्जन गरेको एक करोड ९३ लाख ८९ हजार ६३७ बराबरको सम्पत्तिमध्ये ८५ लाख ५१ हजार ३३४ रुपैयाँको वैधानिक रूपमा आयआर्जन भएको देखिएको अख्तियारले जनाएको छ।
त्यसबाहेक एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको भन्दै मुद्दा दायर भएको हो। अख्तियारले २०७४ माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिलाई छानबिन गरेको थियो।
‘गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले सोडारीविरूद्ध उक्त रकम बराबरको बिगो कायम गरी त्यसअनुसार कैद र बिगो बमोजिम जरिवाना गर्न मागदाबी,’ अख्तियारले भनेको छ।
गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ।
आयोगमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको भन्दै उनीमाथि थप कैद र जरिवाना समेत माग गरेको हो।
उनी सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र प्रदेश सभा सदस्य समेत रहेको हुँदा थप सजायको मागदाबी गरेको हो।
अख्तियारले स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी र छोरा बबी सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातको सम्पत्ति जफत गर्न माग गरेको छ।
सोडारी २०८१ वैशाल ६ गतेदेखि २०८१ साउत २० गतेसम्म सुदूरपश्चिमका मुख्यमन्त्री थिए।