काभ्रेको पाँचखाल नगरपालिका-१३, कोशीदेखा, काभ्रेपलान्चोकमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको औषधि सौजन्यमा लायन्स इन्टरनेसनल ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौं ड्रिमसिटी, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाज तथा काभ्रेली सेवा समाज बेल्जियमको संयुक्त आयोजनामा भएको शिविरमा ४ सय जनाले प्रत्यक्ष लाभ लिएका जनाइएको छ।
शिविरका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सतिशकुमार शाह तथा वीर अस्पतालका जनरल फिजिसियन डा. सरोजकुमार शाहको चिकित्सकीय टोली पाँचखाल पुगेको इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष दिनेश उप्रेतीले जानकारी दिए।
ओम मेगाश्री फर्मास्युटिकल्सको चार लाख औषधि सौजन्यमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबारे प्रस्ट पार्दै लायन्स क्लब अफ काठमाडौं ड्रिमसिटीका अध्यक्ष राजिन पनेरूले गाउँघरमा रहेका अशक्त एवम् वृद्धवृद्धाहरूलाई लक्षित गरी गरिएको स्वास्थ्य शिविरले सो वर्गले प्रत्यक्ष राहत प्राप्त गरेको र यस किसिमको कार्यमा सबै निकाय लाग्नुपर्ने बताए।
मुटु र मधुमेह रोगलाई लक्षित गरी गरिएको कार्यक्रममा अधिकांश प्रेसरसम्बन्धी बिरामीले आफूहरूमा प्रेसरको समस्या भइरहेको समेत जानकारी नभएको भन्दै शिविरले आफूहरूको स्वास्थ्यमा ठूलो राहत पुर्याएको बताए।
वडा नं. १३ का वडाध्यक्ष सुकवीर तामाङले राज्यले गर्न नसकेको कामलाई स्वास्थ्य क्षेत्रमा पहिलो पटक आइपिओ ल्याएर जनतालाई लगानी गर्ने सुवअसर प्रदान गर्ने ओम मेगाश्री, लायन्स र काभ्रेपलान्चोक सेवा समाजले गरिदिएर सयौँ काभ्रेली जनतालाई गुन लगाएको बताए।
शिविरले विशेष गरी सहरी पहुँचबाट टाढा रहेका, आर्थिक रूपमा विपन्न जेष्ठ नागरिक एवम् अशक्त समुदायलाई राहत पुगेको जोन पर्सन लायन गोपालप्रसाद सापकोटाले बताए।