सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन गर्न लागिएको स्पष्ट पारेको छ ।
श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले व्यवसायीहरूले दिएको सुझावकै आधारमा वैदेशिक रोजगार ऐन संशोधनका लागि ड्राफ्ट गर्नु परेको स्पष्ट पारे । मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एसेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरोकारवालाबीच छलफलकै क्रममा रहेको ऐनको विषयलाई लिएर आपत्ति नजनाउन पनि व्यवसायीहरूलाई आग्रह गरे ।
सरकारले तयार पारेको वैदेशिक रोजगार ऐनमा १ करोड रुपैयाँ धरौटी राख्ने प्रस्ताव गरिएकोमा आपत्ति जनाउँदै मंगलबार वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागको कार्यालय धर्ना दिएका थिए । तर, राज्य मन्त्री चौधरीले व्यवसायीहरूसँग पुनः छलफल गरेर मात्रै सो ऐनलाई अन्तिम रुप दिइने भएकाले सो सम्बन्धमा आपत्ति नजनाउन पनि आग्रह गरे ।
राज्यमन्त्री चौधरीले सरकारले वैदेशिक रोजगार ऐनलाई संशोधन गरेर व्यवसायी र रोजगारदाताको हक, हित र अधिकारलाई सुरक्षित बनाउन लागि परेको पनि दाबी गरे। उनले दैनिक ५० जना भन्दा बढी सर्वसाधारण वैदेशिक रोजगार व्यवसायीहरूबाट ठगिएको गुनासो लिएर आउने गरेकाले पनि सरकारले त्यसलाई नियन्त्रण गर्ने गरी ऐन संशोधन प्रक्रिया अघि बढाउन लागिएको पनि स्मरण गराए ।
उनले प्रस्तावित ऐनमा जिल्लामै ठगिएका रोजगारदाताहरूले न्याय पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।
राज्यमन्त्री चौधरीले क्यानडा लगायतका मुलुकलाई रोजगारदाता गन्तव्य मुलुक बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकार स्वदेशमै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताए ।