रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका सात उम्मेदवारमध्ये बुधबार पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यसअघि उम्मेदवारी दिएका चार स्वतन्त्रसहित नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले दिउँसो तीन बजेअघि नै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अपरेटर गेहेन्द्र कँवरले सेतोपाटीलाई बताए।
अब उपाअध्यक्ष पदका लागि त्यहाँ नेपाली कांग्रेसको रूख चिह्नबाट उम्मेदवार बनेकी नेकपा (एमाले) की केशकुमारी तुलाचन र नेकपा (माओवादी केन्द्र) की उम्मेदवार नरपुरा बुढाको बीचमा मात्रै प्रतिस्पर्धा हुने निश्चित भएको छ।
कांग्रेसको रूख चिह्नबाट चुनाव लड्ने गरी उम्मेदवारी दिएकी तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन्। उनी एमाले भए पनि सहमतिमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचन लड्न लागेकी हुन्।
यसअघि उपाध्यक्ष पदका लागि नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भीमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (विक) को उम्मेदवारी दिएका थिए।
नेकपा (एकीकृत समाजवादी) की उम्मेदवारले विज्ञप्ति निकालेर माओवादी उम्मेदवारलाई समर्थन गर्ने जनाएकी छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्। उनको गत भदौ २८ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो।