मंसिर १० गते पहिलो चरणको निर्वाचन भएका क्षेत्रको मतगणना भने मंसिर २१ पछि मात्रै हुने भएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एकैपटक सुरू हुने भएकाले १० गते निर्वाचन भएका ३२ जिल्लाको पनि मतगणना २१ गतेपछि मात्रै सुरू हुने भएको हो।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार यतिञ्जेल मतपेटिका सबै जिल्लाका जिल्ला सदरमुकाममा सुरक्षित राखिने छ। र, दोस्रो चरणको निर्वाचन भएपछि गणना सुरू गरिने छ।
मंसिर १० मा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुने भए पनि मतगणना भने मंसिर २१ को निर्वाचनपछि मात्रै हुनेछ। २१ गते ४५ जिल्लामा निर्वाचन हुनेछ। 'अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो,' उनले भने, 'जति चरणमा चुनाव भए पनि मतगणना एकसाथ अघि बढ्छ।'
स्थानीय तह निर्वाचनमा भने आयोगले छुट्टाछुट्टै गणनाको प्रबन्ध मिलाएको थियो। जसकारण पहिलो र दोस्रो चरणको निर्वाचन भएका ६ वटा प्रदेशको मतगणना सकिसकेको छ भने दुई नम्बर प्रदेशमा निर्वाचन बाँकी नै छ।